उडानका क्रममा विमानको झ्याल फुटेपछि आपतकालीन अवतरण


वासिङ्टन- अमेरिकाको ओरेगन राज्यमा १७७ जना यात्रु बोकेको अलास्का एयरलाइन्सको विमानलाई शुक्रबार आपतकालीन अवतरण गराइएको छ ।

‘फ्लाइट १२८२’ को विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार साँझ ५ः०० बजे उडेको र विमानमा ‘चालक दलले चापको समस्या भएको रिपोर्ट गरेपछि’ सुरक्षित रूपमा फर्काइएको थियो,” सङ्घीय उड्ययन प्रशासनले एक्स (ट्वीटरमा)मा लेखेको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा विमानको झ्यालको शिशा फुटेको र छतमा इमर्जेन्सी अक्सिजन मास्क झुण्डिएको देखिएको छ । विमानमा सवार यात्रु काइल रिङ्करले सिएनएनलाई बताएअनुसार उडान भरेको केही बेरमै झ्याल फुटेको थियो ।

“यो वास्तवमा अचानक थियो । झ्याल भर्खरै बन्द भएको र विमान भर्खर उचाईमा पुगेको थियो । अक्सिजन मास्क बन्द नभएसम्म यसलाई महशुस गरिएन,” उनले सीएनएनसँग भने ।

अर्का यात्रु भि गुयेनले न्युयोर्क टाइम्सलाई बताएअनुसार उडानका क्रममा आएको चर्को आवाजले उहाँलाई ब्यूँझाएको थियो ।

“मैले आँखा खोल्दा सबैभन्दा पहिले मेरो अगाडि अक्सिजन मास्क देखेँ”, गुयेनले न्युयोर्क टाइम्ससँग भने, “त्यसपछि मैले बायाँतिर हेर्दा विमानको झ्यालको शिशा थिएन ।”

बोइङ ७३७ म्याक्स ९ विमानले क्यालिफोर्नियाको ओन्टारियोका लागि साँझ ५ः०७ बजे उडान भरेको थियो भने करिब २० मिनेटपछि विमानस्थलमा फर्किएको ‘फ्लाइट ट्रयाकिङ वेबसाइट (फ्लाइटअवेयर)’ले जनाएको छ ।

फ्लाइटअवेयरका अनुसार यसलाई अक्टोबरमा एयरवर्थी प्रमाणित गरिएको थियो । बोइङले थप जानकारी सङ्कलन भइरहेको र प्राविधिक टोली अनुसन्धानका लागि सहयोग गर्न तयार गरिएको छ ।

 

प्रतिक्रिया