न्याय परिषद्का सदस्य श्रेष्ठलाई फिर्ता बोलाउने नेपाल बारको निर्णय


काठमाडौं – नेपाल बार एसोसिएसनले न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

बार एसोसिएसनको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । न्याय परिषद्का सदस्य श्रेष्ठ नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति पाएका व्यक्ति हुन् ।

२०७७ सालमा परिषद्को सदस्य बनेका श्रेष्ठले बारसँग समन्वय नगरी निर्णय गर्ने गरेको र त्यसले कानुन व्यवसायीको अहित भएको भन्दै उनलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

यसअघि नेपाल बार एशोसिएसनले बारको सिफारिसमा सदस्य बनेका श्रेष्ठलाई बिहीबार छलफलका लागि बोलाएको थियो । तर श्रेष्ठ बारमा नगएपछि बारले बैठक राखेर श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय लिएको हो ।

पछिल्लो समय न्याय परिषद्‌मा भएका निर्णहरूमाथि श्रेष्ठले बारसँग कुनै सल्लाह नगर्ने, बारको चासो नराख्ने, आफूखुशी चल्ने र न्यायापालिकाको अहित हुने निर्णयमा साक्षी बनेको आरोप लगाउँदै बारले श्रेष्ठप्रति विश्वास नरहेको भन्दै शुक्रबार बसेको कार्यसमिति बैठकले राजनीनामा दिन दबाब दिएको हो ।

 

प्रतिक्रिया