संसद सचिवालयमा भट्टराई नेकपा प्रमुख सचेतक, देव गुरुङलाई सुविधा फिर्ता गर्न पत्र


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रमुख सचेतका प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका खोटाङका बिशाल भट्टराईलाई संसद सचिवालयले कार्यकक्षसहित सुविधा उपलव्ध गराएको छ।

नेकपा संसदीय दलका नेता समेत रहेका ओलीले यसै साता भट्टराईलाई नियुक्त गरेका थिए। सचिवालयले उनलाई नै आधिकारिकता दिँदै रेकर्डमा राखेको छ। यसका साथै प्रमुख सचेतकले पाउने कार्यकक्ष, गाडीलगायतको सुविधा पनि भट्टराईले पाउने सचिवालयका एक अधिकारीले बताए।

प्रमुख सचेतकका रुपमा सुविधा उपभोग गरिरहेका देव गुरुङलाई गाडीलगायतका सुविधा फिर्ताका लागि संसद सचिवालयले पत्र पठाएको छ। नेकपामा विवाद आएपछि गुरुङ पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षमा उभिएका थिए।

प्रतिनिधि सभा विघटनको सिफारिसपछि गुरुङले प्रचण्ड–नेपालको कित्ता रोज्दै प्रधानमन्त्री ओलीविरुद्ध भाषणबाजी पनि गरेका थिए। सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि गुरुङलाई बर्खास्त गर्दै भट्टराईलाई ओलीले नियुक्त गरेका हुन्।

प्रमुख सचेतकले नेकपाका सांसदलाई संसदीय दलका नेताको आदेशअनुसार ह्वि जारी गर्नेछन्। उक्त ह्वि नमाने कारबाहीका लागि सिफारिस पनि गर्न सक्नेछन्।

नियुक्त भएको भोलीपल्टै भट्टराईले ह्वि नमान्नेलाई कारबाही गरिने चेतावनी पनि दिएका थिए भने ओली पक्षमा बहुमत सांसद रहेको जिकीर गरेका थिए।

प्रतिक्रिया