प्रधानमन्त्रीसँग मुख्यमन्त्रीहरूको भेट, संघीयता कार्यान्वयनमा गम्भीर बन्न आग्रह


काठमाडौं – प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संघीयता कार्यान्वयनमा गम्भीर बन्न आग्रह गरेका छन्। उनीहरूले प्रदेशको अधिकार सूचीका विषय हस्तान्तरण गर्न आग्रह गरेका हुन्।

बिहीबार र शुक्रबार बागमती प्रदेशका राजधानी हेटौँडामा भेला भएर संघीयता कार्यान्वयनमा संघ सरकार गम्भीर नबनेको निष्कर्ष निकालेका उनीहरू शनिबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीलार्य भेटेका हुन्। भेटमा सुदूरपश्चिम बाहेक अन्य ६ प्रदेशका मुख्यमन्त्री सहभागी थिए ।

प्रधानमन्त्रीलाई भेटेर हेटौँडा भेलाको निष्कर्ष सुनाएको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले जानकारी दिए। मुख्यमन्त्रीहरूको कुरा सुनेपछि प्रधानमन्त्रीले आफू संघीयताको पक्षमा रहेको बताउँदै प्रदेशका माग सम्बोधन गर्ने आश्वासन दिए।

प्रहरी समायोजन, संघीय निजामती सेवा ऐन, सरकारी भवन तथा जग्गाको स्वामित्व हस्तान्तरण, साझा अधिकारका विषयका कानुन निर्माणमा सहकार्य, राष्ट्रिय वनलगायतका प्राकृतिक स्रोतको उपयोग एवम् राजस्व बाँडफाँड र वित्तीय हस्तान्तरण लगायत कार्यान्वयनमा संघले बेवास्ता गरिरहेको मुख्यमन्त्रीहरूको आरोप छ।

 

प्रतिक्रिया