

रुसी सेनामा २०० बढी नेपाली भर्ना भएको र १०० हराइरहेको उजुरी परेको छ : परराष्ट्रमन्त्री

काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा करिब दुई सय जना नेपाली भर्ना भएको दाबी गरेका छन् । अध्ययन र भ्रमण भिसामा गएका उनीहरू रुसी सेनामा भर्ना भएको सरकारको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।
उनले कम्तिमा सय जना नेपाली हराइरहेको बताए। ‘करिब दुई स यजना काम गर्न, अध्ययन र भ्रमण भिसामा रुस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको खुलेको छ। त्यसभन्दा केही बढी भर्ना भएको हुनुपर्छ भन्ने हो । किनभने सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ,’ उनले भने ।
उनले युक्रेनमा बन्दी रहेका नेपालीको रिहाईका लागि त्यहाँको सरकासँग निरन्तर सम्बाद भइरहेको बताए । ‘युक्रेन हेर्ने हाम्रो राजदूतले उद्धारका लागि वार्ता संवाद गरिरहनुभएको छ। दिल्लीस्थित नेपाल हेर्ने युक्रेनको राजदूतावासमा पनि कुरा भइरहेको छ । अन्तर्राष्ट्रिय रेडक्रसलाई युद्ध बनाइएका चार नेपालीलाई तत्काल रिहाइका लागि सहजीकरण गरिदिन पनि आग्रह गरेका छौं,’ उनले भने ।
रुसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रुसी सरकारले नै दिएको उनले प्रस्ट पारे। उनले नेपालस्थित रुसका राजदूतलाई मन्त्रालयमा बोलाएर नेपालका चासोहरू रुसी सरकारसम्म पुर्याउन सन्देश दिएको मन्त्री साउदले बताए । मस्कोस्थित नेपाली दूतावासलाई पनि राष्ट्रिय मानवअधिकार आयोगको चासोलाई नेपाल सरकारको दृष्टिकोण सम्प्रेषण गर्न निर्देशन दिएको उनको भनाइ छ ।
उनले रुसमा नेपाली नागरिक सैन्य भर्तीका लागि जान नपाउन् वा नजाउन् भनेर ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी)को प्रबन्ध गरेको बताए। त्यतिमात्र होइन, भारत, बंगलादेश र श्रीलंका तथा खाडी क्षेत्रका छ देशबाट एनओसी चाहिने गरी प्रबन्ध मिलाएको उनले बताए।
‘यसपछि पनि थप केही त्यहाँ गएको भन्ने सूचना आएको अवस्थामा विमानस्थलमा थप निगरानी बढाएका छौं । यसमा हामीले आफ्नोतर्फबाट गर्ने पहलकदमीमा केही कसर बाँकी राखेका छैनौं । कुनै कारणवस अफ्ठ्यारोमा परेर हाम्रो दूतावासमा पुगेकाको उद्धार गरेका छौं । नेपाल फिर्ता गरेका छौं,’ उनले भने ।

