
रुसी सेनामा भर्ना भएका विमल २ महिनादेखि सम्पर्कविहीन
काठमाडाैं- रुसी सेनामा भर्ना भएका एक अर्का नेपाली सम्पर्कविहीन रहेको पाइएको छ । रुसी सेनामा भर्ना भएका धनुषाको मिथिलाका नगरपालिका–७ केमलीपुरका विमलकुमार गजमेर हाल परिवारको सम्पर्कमा नरहेका हुन् ।
रोजगारीको शिलशिलामा दुबई पुगेका उनी भदौ २० गते त्यहीँबाट रुस गएका थिए । दुबईमा खासै कमाई नभएका कारण उनी आफ्ना दाईसँग पैसा मागेर रुस गएको आमा सौमाया विश्वकर्माले बताइन् ।
विमलका बुवा तिलकबहादुर विश्वकर्माका अनुसार रुस पुगेको एक महिनासम्म कुराकानी गरेको छोरा हाल सम्पर्कविहीन रहेका छन् ।
रूसी सेनामा गएका नेपालीहरुको मृत्यु भएको तथा युक्रेनमा बन्दी बनाइएका समाचार आइरहेका बला विमलको परिवार चिन्तित छ । उनीहरूले छोराको खोजीका लागि सरकारलाई आग्रह गरेका छन् । केही दिनअघि मात्रै नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमार्फत परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापनपत्र पठाएका थिए ।
हालसम्म रुसी सेनामा भर्ती भएका ७ नेपालीको युक्रेनसँगको युद्धका क्रममा ज्यान गइसकेको छ । त्यस्तै, रुसी सेनामा भर्ती भएका चार जना नेपाली बन्दी बनेका छन् । बर्दियाको राजपुर–१ का विवेक खत्री, काभ्रेपलान्चोकको मण्डनदेउपुर–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ–२ का विकास राई र रोल्पाको रुन्टिगढी–८ का प्रतीक पुन युक्रेनमा बन्दी अवस्थामा छन् ।



कागजपत्र |
