
संस्कृति मन्त्रीको विवादित भाषण : क्रिश्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु, त्यस्तालाई जेलमा हाल्ने हो
काठमाडौं- सधै मिडियामा भाइरल हुन खोज्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती यसपटक भने विवादित बनेका छन्।
बुधवार काठमाडौँमा आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० कार्यक्रम उनले गरेको भाषण विवादित बनेको हो। कार्यक्रममा उनले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु सरह भएको बताएका छन्। उनले संविधान मान्दिनँ भन्नेहरू देशद्रोही भएको समेत बताए।
‘नेपाल बहु धार्मिक राज्य हो। यो संविधानले स्वीकारेको कुरा हो। मैले भनेको कुरा होइन। राज्यका आँखामा सबै धर्म बराबरी हुन्। आज तीन करोड नेपालीमा लाखौँ क्रिश्चियनहरु भइसकेका छन्। क्रिश्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन्। यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेलमा हालिदिने हो’ उनले भने।
उनले विश्वमा धार्मिक जनसङ्ख्या ८५ प्रतिशत रहेकोमा ३० प्रतिशत क्रिश्चियन रहेको बताउदै उनले प्रश्न गरे, ‘संसारले मान्ने अनि हामीले चाहिँ नमान्ने ?’
अहिले मन्त्री किराँतीले दिएको अभिव्यक्तको चौतर्फी आलोचना भइरहेको छ ।



कागजपत्र |
