

ग्राउण्ड ह्याडलिङका बारेमा आश्वासन पाएपछि निगमका कर्मचारीद्वारा आन्दोलन स्थगित

काठमाडौं- नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगन गरेको छ । १३ दिनदेखि आन्दोलनरत उनीहरुले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग छलफल गरेपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।
मन्त्री किरातीसँगको भेटमा मन्त्रीले ग्राउण्ड ह्याडलिङको विषयमा मन्त्रीपरिषद्बाटै निर्णय हुने भएको प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव महेशप्रसाद भट्टराईले बताए ।
मन्त्रालयले ग्राउण्ड ह्याडलिङको बारेमा नेपाल वायुसेवा निगमलाई पत्राचार गरेको र ग्राउण्ड ह्याडलिङको विषय सरकारले स्वामित्व लिने प्रतिबद्धता जनाएको उनले बताए ।

