

दुबईमा जागिर लगाइदिन्छु भन्दै २ करोड ६३ लाख ठग्ने उपाध्याय पक्राउ

काठमाडौं- दुबईमा जागिर लगाइदिने भन्दै दुई करोड ६३ लाख रुपैयाँ ठगी गर्ने कोमलराज उपाध्याय यूएईबाट पक्राउ परेका छन् ।
दुबईमा त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी खोलेर बसेका सर्लाही जानकीनगरका उपाध्यायले जागिर लगाइदिने भनेर ८३ जनालाई भिजिट भिसामा यूएई बोलाएका थिए । तर जागिर दिन नसकेपछि उनी फरार भएका थिए ।
श्रीराम रानाभाटसहित ८३ जनालाई दुबईमा विभिन्न पदमा आकर्षक तलब हुनेगरी जागिर दिने भनेर दुई करोड ६३ लाख ५४ हजार रुपैयाँ ठग्ने उपाध्यायलाई इन्टरपोलको सहायतामा पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ ।
उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजी गरेर पक्राउ गर्नका लागि नेपाल प्रहरीले गएको वर्षको वैशाखमा इन्टरपोल महासचिवालयलाई अनुरोध गरेपछि रेड नोटिस जारी भएको थियो ।
इन्टरपोलको सहयोगमा यूएईबाट पक्राउ गरी काठमाडौं ल्याइएका उपाध्यायलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेस गरेको छ ।

