रथीमा बढुवा भएका सिग्देलको जन्ममितिमा ‘कैफियतमाथि कैफियत’ !


काठमाडौं – सरकारले बिहीबार बिहान मन्त्रीपरिषद्को बैठकबाट रथीका लागि बढुवा गरेका बरिष्ठतम् उपरथी अशोकराज सिग्देलको जन्ममितिबारे अर्को कैफियत देखिएको छ । जंगी अड्डाबाट बढुवाका लागि सिफारिस भएदेखि नै विवाद देखिएको सिग्देलको जन्ममितिसम्बन्धी विवाद मन्त्रीपरिषद्बाट बढुवा भइसकेपछि पनि अन्त्य भएको छैन ।

नेपाली सेनाको आगामी नेतृत्वको लाइनमा रहने गरि रथी बढुवाका लागि सिफारिस हुनुअघिदेखि नै जन्ममितिमा कैफियत देखिएको भनिएका बरिष्ठतम उपरथी अशोकराज सिग्देलको अर्को जन्ममिति रहेको तथ्य फेला परेको छ ।

रुपन्देही जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नागरिकता नं. ६८९२७ को प्रतिलिपिमा उनको जन्ममिति ‘१७’ वर्ष लेखिएको छ र उक्त नागरिकता २०४०/०६/०९ जारी भएको छ । सामान्यतया नागरिकतामा उमेर लेखिएकोमा उक्त नागरिकता जारी भएकै मितिलाई महिना र दिनको रुपमा लिइने प्रचलन अनुसार उनको जन्म २०२३/०६/०९ मा भएको हुनुपर्ने हो ।

उनकै भनाई र प्राप्त प्रमाणअनुसार सेनाको सुपिङ क्याम्पसको रेकर्डअनुसार उनको जन्म २०२१/१२/१९ रहेको छ र त्रिभुवन विश्वविद्यालयको रजिष्टरमा पनि २०२१/१२/१९ रहेकोमा मिति २०७६/०४/३० मा केरमेट गरि २०२३/१०/१९ कायम गरिएको छ ।

त्यस्तै उनको जन्ममिति सम्बन्धी कैफियतमा सुपिङकै रेकर्ड पनि बाझिएको भेटिएको छ । सुपिङ क्याम्पसको रेकर्डमा देखिएको २०२१/२१/१९ रहेकोमा क्याम्पसले २०४३/५/१२ मा ‘जो जससँग सम्बन्धित छ’ व्यहोराको पत्रमा भने २०२३/१०/१९ नै राखिएको छ । जसले गर्दा सुपिङकै रेकर्ड पनि बाझिएको छ । त्रिविको रेकर्डमा २०७६/०४/३० मा मात्र संशोधन गरिएकोमा सुपिङले २०४३/५/१२ मै उक्त मिति राखि प्रमाण बनाइदिनु पनि अनुसन्धानको विषय बन्नसक्छ । यसबाट सिग्देलको जन्ममितिमा कहिँ न कहिँ कैफियत रहेको पुष्टी हुन्छ ।

त्रिविको रेकर्डमा जन्ममिति संशोधन गर्नु, सुपिङ क्याम्पसकै रेकर्डमा पनि दुई किसिमको मिति हुनु, अनि नागरिकता अनुसार पनि प्रश्न उठाउने ठाउँ रहेकोले सिग्देलको जन्ममितिमा प्रशस्त आशंका गर्ने स्थान देखिएको छ ।

 

 

 

प्रतिक्रिया