वडाध्यक्षहरूसँगको मिलोमतोमा हाइड्रोले हडप्यो गरिबका जग्गा, अख्तियार जाँदै पीडित


सिन्धुपाल्चोक– एउटा हाइड्रोपावर कम्पनीसँगको मिलोमतोमा भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधिले स्थानीयलाई पीडित बनाएको खुलेको छ।

भोटेकोशी गाँउपालिका वडा नं. ३ का दिपेन्द्रकुमार श्रेष्ठ र ४ का वडाध्यक्ष साङदोर्जे शेर्पाले माथिल्लो भोटेकोशी हाईड्रो पावर कम्पनीसँग मिलेर क्षतिपूर्ति दिने बाहनामा स्थानीयको जग्गा हडपेको खुलेको हो।

१२ बैशाख २०७२ को माहाभूकम्पले वडा नंः ३ र ४ को गोलेपा, पांगसेर्पू, आटक, बाँमागाँउ, ज्यांगबा, डाँडागाँउ, ओखरबोटे, फुल्पिंगकट्टी, पागेप, सुरसिंग गाँउमा अन्य ठाँउको तुलनामा बढी क्षती हुन पुगेको थियो । जसको कारण निर्माणाधीन हाईड्रोको टनेल भएको जिकिर वडा बासिन्दाको थियो । निर्माणाधीन हाईड्रोको टनेलको कारण आफ्नो क्षती भएको दाबी गर्दै वडाबासीले हाईड्रोमा अवरोध गर्दै आएको थिए । सो समयमा क्षतीपूर्तिको सम्बोधन गर्दै हाईड्रोले स्थानीयको माग सम्बोधन गर्ने बाचा दिएको थियो ।

स्थानीय निर्वाचनपश्चात् हाईड्रोका प्रबन्धक बबिन प्रधानले निर्बाचित वडाध्यक्षलाई आर्थिक प्रलोभनमा पारी स्थानीयलाई छाँयामा पारेको खुलेको छ।

पछिल्लो समय माग सम्बोधन नभएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए। गाँउमा ६ करोड बराबरको विकासका काम गर्दिने सहमति भए पनि त्यो पूरा भएको छैन। हाईड्रोका प्रबन्धक प्रधान र वडाध्यक्षहरू श्रेष्ठ र शेर्पा मिलेर आफू निकट केही स्थानीयलाई सहमति पत्रमा हस्ताक्षर गर्न लगाएर गुपचुप राखेको यसअघि नै खुलेको थियो।

क्षतिपूर्ती तथा गाउँ विकासको आर्थिक सम्झौता गर्दा वडाध्यक्ष शेर्पाले प्रभावित गाउँको सार्बजनिक भेला नै नगरी आफूखुशी हाईड्रोसँग सम्झौता गरेको आरोप स्थानीयले लगाएका छन् ।

प्रभावित गाँउको अन्य प्रतिनिधिलाई समेत छलकपट गरी माग पत्रमा हस्ताक्षर गराएको आरोप वडाध्यक्षहरूमाथि आरोप छ। तातोपानी–४ की ल्हामु शेर्पाको कित्ता नं २५१ को २ आना १ पैसा, पोटे शेर्पाको कित्ता नं ३९३ र ४४७ को क्रमश १ आना र ३ आना, पोक्ची शेर्पाको कित्ता नं ४१९ र ४७१ को क्रमश २–२ आना, दिर्घबहादुर शेर्पा र निमाबुटी लामाको कित्ता ४१५ को ४ आना र फुर्पा शेर्पाको कित्ता नं ४३७ को दुई आना जग्गा वडाध्यक्षको मिलमेमतोमा हाइड्रोले हडेपेको हो।

पीडितका अनुसार अहिलेसम्म जनप्रतिनिधिले क्षतिपूर्तिका लागि कुनै पहल नगरेको बरु उल्टै मिलेमतो गरेका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारी भएको छ।

क्षती भएको ठाउँमा छाडेर वडाध्यक्षहरू श्रेष्ठ र शेर्पाले हाईड्रोको रकमले अन्य स्थानमा निर्माणकार्य सुरु गरेको पनि खुलेको छ। ‘स्थानीयको नाममा हाइड्रोसँग वडाध्यक्षले क्षतिपूर्ती लिएको तर पीडितलाई नदिएको सुनेका छौं’, स्थानीय भन्छन्,‘त्यसैले अख्तियारमा उजुरी दिने तयारीमा छौं।’

यस हिनामिनामा हाईड्रोका प्रबन्धक प्रधानले समेत मोटो रकम हात पारेको स्थानीयको आरोप छ । पैसा हिनामिना र पीडित स्थानीयको माग सम्बोधनका बिषयमा यर्थाथ के भएको हो जानकारी लिने उद्देश्यले भोटेकोशी न्यायिक समितीले सार्वजनिक बहस गराउन दुबै पक्षलाई उपस्थितीको लागी पत्रचार गरेको थियो । तर त्यस दिन हिनामिनाको आरोपित लागेका हाईड्रोका प्रबन्धक प्रधान, वडाध्यक्ष शेर्पालगायत कोही उपस्थित भएका थिएनन्।

प्रतिक्रिया