

आरती साह हत्या प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश, ससुरा १ लाख धरौटीमा रिहा

काठमाडौं- सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
बुधबार न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले श्रीमानलाई थुनामा पठाउने आदेश दिएको हो।
त्यस्तै, आरतीका ससुरा मदन मोहन साहलाई एक लाख धरौटीमा छोड्न आदेश दिएको छ।
गत जेठ ७ गते आफ्नै घरमा आरतीको हत्या भएको थियो । दाइजोको निहुँमा हत्या गरिएको भन्दै आरतीका बाबु विनोदप्रसाद साहको जाहेरीका आधारमा धनुषा जिल्ला अदालतले असार ५ गते श्रीमान् र ससुरा दुवैलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो ।
तर असोज १९ गते उच्च अदालत जनकपुरले जिल्लाको आदेश उल्टाउँदै दुवैलाई साधारण तारेखमा रिहा गरेको थियो । जिल्ला अदालतको आदेशप्रति असन्तुष्टि जनाउँदै आरतीका बुबा विनोदले गत कात्तिक २३ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

