

कवाडी गोदाम आगलागी अपडेटः घाइतेलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइयो

विराटनगर – बुधबार दिउँसो विराटनगरको कवाडी गोदाममा लागेको आगलागीबाट घाइते चार जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
विराटनगरको सातघुम्तीमा रहेको कवाडी गोदाममा भएको आगलागीमा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।
घटनामा घाइते चारै जनालाई उपचारका लागि नेपाली सेनाको स्काई ट्रकबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जन दाहालले जानकारी दिए।
आगलागीमा परी विराटनगर–६ की ६० वर्षीया रीता सरदार, विराटनगर–६ कै ६५ वर्षीया सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामत र विराटनगर–६ का ५८ वर्षीय किशोर कामत घाइते भएका छन्। प्रहरीका अनुसार रीता र सुशीलाको अवस्था गम्भीर छ।
उक्त गोदाम विराटनगर ६ का दीपक मण्डलको हो। घटनामा घाइते भएका उनको उपचारको क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको हो। आगलागीमा परी अर्का एक जनाको गोदाममै मृत्यु भएका अर्का व्यक्तिको भने अहिलेसम्म पहिचान हुन सकेको छैन ।

