३ महिनादेखि नेपाल बैंक लिमिटेडको सिईओ खाली, ठूला ऋणीका फाइल ‘अलपत्र’ !


काठमाडौं – सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडमा ३ महिनादेखि प्रमुख कार्यकारी अधिकृत (सिईओ) रिक्त रहेको छ ।

तत्कालिन सिइओ कृष्ण बहादुर अधिकारीको यही असोज १५ गते कार्यकाल समाप्त भएकोले त्यसपछि अहिलेसम्म बैंकले नयाँ सिईओ पाउन सकेको छैन ।

सञ्चालक समितिले सिइओ नियुक्तिका लागि असोज १५ मै कार्यविधि पास गरेर असोज २१ गते सूचना जारी गरे पनि अहिलेसम्म बैंकले नयाँ सिईओ छान्न सकेको छैन ।

पदपूर्ति समितिले २१ दिनको समयावधि तोकेर विज्ञापन प्रकाशित गरे पनि अहिलेसम्म सिइओ नियुक्त नहुनुमा तालुकदार मन्त्रालयको चासो रहेको जनाइएको छ ।

अर्थमन्त्रालय मातहतको सरकारी बैंकमा नै लामोसमयदेखि सिईओ नियुक्त नगरिनु अर्थ मन्त्रालयसँग केहीले आर्थिक चलखेल गर्न खोजेको पनि स्रोतले जनाएको छ । दरखास्त आह्वान गरेर विभिन्न चरण पार गर्दै छनोट गरिने जनाइए पनि अर्थका केही अधिकारीहरुले चासो लिन थालेपछि नियुक्ति प्रक्रियामा ढिलाई भएको हुनसक्ने जनाइएको छ ।

मुलुकको अर्थतन्त्र डामाडोल भएको अवस्थामा सरकारी बैंक नै नेतृत्वबिहीन बनेसँगै बैंकले गर्नुपर्ने ऋण प्रवाहमा प्रत्यक्ष असर परेको सेवाग्राहीहरु बताउँछन् । ठूला–ठूला ऋण निमित्त सिइओले निर्णय नगर्ने भएको हुनाले ठूला ऋणीहरुको फाइल बैंकमा त्यत्तिकै ‘अलपत्र’ अवस्थामा रहेको जनाइएको छ । त्यसैले सरकारी बैंकबाट ऋण लिए व्यवसाय गर्ने सपना देखेकाहरुको फाइल बैंकमै ‘डम्प’ भएर बसिरहेका छन् ।

प्रमुख कार्यकारी अधिकृत नियुक्ति सिफारिस सम्बन्धी उप समितिले सिइओ छनोटको प्रक्रिया सुरु गरे पनि अहिलेसम्म सञ्चालक समितिमा सिफारिस नगर्नुमा अर्थका केही ‘स्वार्थी समूह’को भूमिका रहेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सिइओका लागि करिब २० जनाको आवेदन परेको जनाइएको छ । तर, ३ महिना नाघिसक्दा पनि अहिलेसम्म पहिलो चरणको छनोटको नतिजा नै ननिकाल्नु जर्जर अर्थतन्त्र रहेको अहिलेको अवस्थामा प्रत्यूपादक हुनजान्छ ।

यसअघिका सिईओ अधिकारीले २८ औं सिइओको रुपमा २०७५ साल चैत १२ गतेदेखि बैंकको व्यवस्थापकीय पक्षको नेतृत्व सम्हालेका थिए । उनको कार्यकाल सकिएपछि अहिले निमित्त सिइओको रुपमा समता पन्त (भट्ट)ले कार्यभार सम्हाल्दै आएकी छिन् ।

बैंकको सञ्चालक समिति अध्यक्षमा गंगाप्रसाद ज्ञवाली रहेका छन् । उनले २०७९ साउन २३ गतेदेखि सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

प्रतिक्रिया