


इयूको रिपोर्टपछि क्यान र नेपाल एयरलाइन्सबीच ‘टसल’ !

काठमाडौं- युरोपेली युनियनले नेपाली उड्डयन क्षेत्रलाई उडान सुरक्षा चासो (कालोसूची)को लिस्टबाट हटाएन । इयूले बिहीबार सार्वजनिक गरेको एयर सेफ्टी लिस्टमा नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनीहरूले निरन्तरता पाएका छन् ।
इयूले नेपाली उड्डयन क्षेत्रलाई कालोसूचीबाट नहटाउँदा नेपालमा दर्ता भएका वायुसेवा कम्पनीले फेरि पनि युरोपेली आकाशमा उडान भर्न पाउने छैनन् ।
युरोपेली युनियनले १० वर्षअघि देखि नेपाली वायुसेवालाई युरोपेली आकाशमा उडान गर्न नपाउने गरी कालोसूचीमा राख्दै आएको छ । इयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै कालोसूचीमा राखेको थियो ।
सोही सम्बन्धमा भदौ २५ देखि २९ गतेसम्म ईयूका प्रतिनिधिमण्डलले नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र श्री एयरलायन्सको स्थलगत अवलोकन तथा स्थिति मूल्याङ्कन गरेका थिए ।
मूल्याङ्कनपछि सार्वजनिक भएको प्रतिवेदनमा नेपाल वायु सेवा निगम र श्री एयरलाइन्सले केही कमीकमजोरी सुधार गर्नुपर्ने सुझाव दिइएको छ । नेपाल वायुसेवा निगमले वर्तमान संगठन संरचना, कार्यपद्दती, आर्थिक एवम् प्राविधिक क्षमता, जनशक्ति एवम् सेवा प्रवाहको गुणस्तर सोको अभिलेखीकरण लगायत समग्र संस्थागत संरचनामा आमुल परिर्वतन गर्नुपर्ने टिप्पणी इयूले गरेको छ ।
प्रतिवेदनमा सुरक्षा व्यवस्थापन प्रणाली पालना नगरेको, उडान सयमको निश्चितता, हवाई कागजात व्यवस्थापन तथा सुझाव कार्यान्वयनजस्ता पक्षमा गम्भीर कमजोरी रहेको, वायुयानको उडान योग्यता तथा क्षमता सम्बन्धमा गर्नु पर्ने आवश्यक नियमन तथा सुरक्षा चासोमा कमी देखिएको उल्लेख गरिएको छ ।
सोही विषयमा नेपाल वायुसेवा निगमका कार्यकारी निर्देशकलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले सातदिने स्पष्टीकरण सोधेको छ ।
निगमकै सुरक्षा व्यवस्थापनको कारण नेपाल ईयूको कालोसूचीबाट नहटेको उल्लेख गर्दै प्राधिकरणलाई स्पष्टीकरण सोधेको हो । उक्त स्पष्टीकरण पत्रमा निगमले निर्देशन पालना नगरेको र निगमभित्रको कमजोरीमा सुधार नगरेको कारण सोधिएको छ ।
यस्तै श्री एयरलाइन्सका सन्दर्भमा वर्तमान कार्यपद्दति सन्तोषजनक रहेतापनि थप सुधारका लागि प्रभावकारी कार्य प्रणाली एवम् कार्यपद्दति अवलम्बन गर्दै जान विशेष पहलकदम चाल्नुपर्ने सुझाव इयूको प्रतिवेदनमा उल्लेख छ । कम्पनीको उडान सञ्चालन नीतिमा सुधार गर्नुपर्ने, उडान योजना र चालक दलको थकान व्यवस्थापन नगरिएको प्रतिवेदनमा उल्लेख छ ।
तर, राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का कारण ईयूले नेपाललाई कालोसूचीबाट नहटाएको दाबी गरेको छ । हिजो(आइतबार) एक विज्ञप्तिमार्फत नेपाल एयरलाइन्सले आफ्नो कमजोरीका कारण नभइ क्यानका कारण कालोसूचीबाट नहटाइएको उल्लेख गरिएको बताएको छ ।
‘युरोपियन युनियन (ईयू)बाट बाट २९ नोभेम्बर २०२३ मा क्यानका महानिर्देशकलाई सम्बोधन गरी बेल्जियमका लागि नेपाली राजदूत महामहिमज्यूलाई बोधार्थ दिई पठाइएको पत्रमा ईयूले नेपाललाई ईयू सेफ्टी लिस्टबाट नहटाउनुको कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को न्यूनतम अन्तर्राष्ट्रिय सुरक्षाका मापदण्डहरू नेपालमा लागु गर्ने जिम्मेवारी पूरा गर्ने वर्तमान क्षमतामा विश्वस्त हुन नसकिएकाले भनी स्पष्टसँग उल्लेख गर्दागर्दै पनि नेपाल वायुसेवा निगमको कमजोरीका कारण नेपाललाई ईयूले सेफ्टीबाट नहटाएको भनी भ्रमपूर्ण प्रचारबाजी भएको पाइएको छ’ विज्ञप्तिमा भनिएको छ ।
हिजो बसेको निगम कार्यकारी समितिको बैठकले क्यानले नेपाल एयरलाइन्सको कमजोरीका कारण नभइ इयूको अडिटले क्यानको पर्यक्षण क्षमता, कर्मचारी व्यवस्थापन, तालिम र प्रमाणीकरण प्रक्रियाहरुको थप सुधारको आवश्यकता रहेको भनि कमजोही औंल्याएको प्रष्ट पारेको छ ।
उक्त कुरा इयूको प्रतिवेदनको बुँदा नम्बर ७६ मा प्रष्ट लेखिएको समेत नेपाल एयरलाइन्से विज्ञप्तिमार्फत जनाएको छ ।
यस्तो छ नेपाल एयरलाइन्सको विज्ञप्ति:

