आजदेखि केरुङ नाका पुनः सञ्चालनमा


काठमाडौँ – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका आजदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका आजदेखि खुलेको हो ।

सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप उक्त नाका पुनःसञ्चालनमा आउन लागेको हो ।

रसुवा जिल्ला कोरोनामुक्त भइसकेको र भन्सार कार्यालय, सुरक्षा निकाय, ट्रक चालक र श्रमिकले कोरोनाविरुद्धको खोप लगाइसकेकाले महामारीको जोखिम नगण्य रहेको वास्तविकता चीनलाई बुझाउन तथा स्वास्थ्य जोखिम नरहेको विषयमा विश्वस्त पार्न परराष्ट्र मन्त्रालय र ल्हासास्थित महावाणिज्य दूतावासले निक्कै मेहनत गर्नुपरेको थियो ।

यसअघि रसुवा भन्सार कार्यालयको एकल प्रयास पहलबाट नाका खोल्न नसकिने जानकारी उसले माथिल्लो निकायलाई दिइसकेको थियो । परराष्ट्र मन्त्रालयले यहाँस्थित चिनियाँ दूतावास एवं बेइजिङ र ल्हासामा रहेका आफ्ना कूटनीतिक संयन्त्रहरूमार्फत नाका खोल्न अथक प्रयास गरेको थियो ।

केरुङ नाका नखुल्दा आयात–निर्यात ठप्प भएको छ कोभिड–१९ ले थिलथिलो पारेको मुलुकको अर्थतन्त्रलाई अझ कमजोर पारेको छ भने राज्यलाई दैनिक दुई करोडभन्दा बढी राजस्व योगदान गरिरहेको उक्त अन्तर्राष्ट्रिय व्यापारिक नाका बन्द भएपछि राज्यलाई घाटामात्र भएको छैन स्थानीय तथा नाकामा कारोवार गर्ने व्यापारीलाई समेत रोजी–रोटीको चिन्ता बढेको थियो ।

प्रतिक्रिया