

उदयपुरमा पिकनिक गएको स्कुल बस दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु, ३७ जना घाइते

उदयपुर – उदयपुरमा शनिबार पिकनिक गएको स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित मदन भण्डारी राजमार्गमा १–०५–००१ ख ००४४ नम्बरको स्कुल बस दुर्घटना भएको हो।
दुर्घटनामा १२ जना गम्भीर र २५ जना सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ।
मृतक तीन जनाको सनाखत भएको र ज्यान गुमाउनेमा चालक बिखन चौधरी, सात वर्षीया सन्या चौधरी र छ वर्षीय विकास चौधरी रहेको प्रहरीले जानकारी दिएको छ।
गम्भीर घाइते १२ जनालाई विराटनगर लगिएको र २५ जना घाइतेको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ।
अन्नपूर्ण विद्यालयको बस त्यहीँका स्थानीयले पिकनिक प्रयोजनका लागि लगेको बुझिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

