

ओलीको युवा संघलाई निर्देशन, ‘कतिबेला कहाँ लड्न पर्छ तयार भएर बस्नु’

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले काम लाग्दैन भनेर १७ वर्ष अघि फालिसकेको राजा नफर्कने बताएका छन् ।
एमाले पार्टी कार्यालय च्यासलमा शुक्रबार राष्ट्रिय युवा संघको दोस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजतन्त्र काम लाग्दैन भनेर नेपाली जनताले १७ वर्षअघि नै फालेकाले त्यो पुन फर्किन्छ भन्नु मुर्खताबाहेक अरु केही नभएको जनाएका हुन् ।
ओलीले एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्नेहरुमा चेतना नभएको भन्दै राजतन्त्र भन्नेहरु मूर्ख भएको टिप्पणी गरे ।
ओलीले दुर्गा प्रसाईंले बल्खुमा पाँच सात हजार मान्छे ल्याउँदा सरकार थर्कमान भएको समेत टिप्पणी पनि गरे ।
‘हिजो बल्खुमा भोलि उठी कहाँ जाने थाहा छैन भन्ने खालका । कहाँ हिँड्या हुन् थाहा छैन । केका लागि हिँड्या थाहा छैन । के माग हो ? के नारा हो ? थाहा छैन । हाहाहुहु गर्न जान पाइन्छ भनेपछि हेर्न आए’, उनले भने, ‘यो सरकार त्यतिकैमा थर्कमान छ ।’
अध्यक्ष ओलीले बिहीबार युवासंघले गणतन्त्रमाथि प्रहार गर्नेविरुद्ध गरेको प्रतिकारको सरहना गर्दै प्रतिक्रियावादीहरुले कहाँ भेट्ने भन्छन् सोही ठाउँमा भिडन्तका लागि तयार रहनुपर्ने बताए ।
‘जतिसुकै बेला परिवर्तनका लागि विशाल आन्दोलन गर्नुपर्ने हुनसक्दछ । त्यसका लागि युवासंघ तयार हुनुपर्छ’, उनले भने, ‘त्यसकारण युवासंघ र युथफोर्सले आफूलाई तयार राख्नुपर्छ । रुन्चे कुरा गर्नुहुँदैन । बक्सिङ खेल्ने भनेको थियो खुट्टाले राउन्ड किक हानेर बंगारा झारिदियो भन्ने होइन । ठाउँ तोकेर, समय तोकेर युवासंघ तयार छ भिड्नलाई ।’

