

जापानविरुद्ध जित हात पार्दै नेपाल तेस्रो

काठमाडौं – नेपाल हङकङमा जारी चार देश सम्मिलित महिला अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलामा तेस्रो भएको छ ।
नेपाल र जापानबीच भएको तेस्रो स्थानको खेलका लागि नेपालले जापानविरुद्ध ४५ रनको जित हात पार्दै तेस्रो भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १५ रन जोड्दै जापानलाई ११६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । ११६ रनको लक्ष्य पछ्याउने क्रममा जापा २० ओभरमा ६ विकेटको क्षतिमा ७० रन बनाएपछि नेपाल ४५ रनले विजयी भएको हो ।
जापानका लागि आकारी निशीमुराले २९ रन बनाइन् भने हिनासे गोटोले १६ रन बनाउँदा अहिल्या चण्डल ११ रनमा रनआउट बन्न पुगिन् । नेपालका लागि संगीता राई, इन्दु बर्मा, सोनी पाख्रिन, सिता रानामगर र खुशी डंगोलले १/१ विकेट हात पारे ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल पूजा महतोको ४३ रनको उत्कृष्ट पारीका मद्दतलेसम्मानजनक लक्ष्य प्रस्तुत गर्न सफल भएको थियो । त्यस्तै रोमा थापाले २२, रुबिना क्षेत्रीले २१ र इन्दु बर्माले १२ रन जोडेका थिए । नेपालले ५ विकेटको क्षतिमा उक्त लक्ष्य दिएको थियो ।
सिरिजको उपाधिका लागि आजै हङकङ र तान्जानिया भिड्ने भएका छन् । प्रारम्भिक चरणमा नेपाल हङकङ र तान्जानियासँग पराजित भएको थियो भने जापानले तीनवटै खेल गुमाएको थियो ।
हङकङले तिनै खेलमा जित हात पार्दै फाइनल प्रवेश गरेको हो भने तान्जानिया भने नेपाल र जापानलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
समूह चरणको नतिजा हेर्दा फाइनलमा पनि हङकङले बाजी मार्नसक्ने देखिएको छ ।

