


रानीपोखरीस्थित मन्दिर भोली बिहानैदेखि खुल्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले तिहारको दिनमात्रै खुल्ने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर बुधबार बिहानैबाट खुल्ने जनाएको छ । हरेक वर्ष भाइटीकाका दिनमात्र खुल्ने मन्दिर बुधबार बिहानैदेखि खोल्न सबै तयारी पूरा भएको महानगरपालिकाले जनाएको छ ।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुल्ने भएकाले त्यसको सबै तयारी गरिएको र भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने काठमाडौं महानगर प्रहरी बलका प्रमुख एवं वरिष्ठ नगर प्रहरी उपरीक्षक (एसएसपी) राजु पाण्डेले जानकारी दिए ।
‘सम्पूर्ण तयारी पूरा भएको छ, महानगर प्रहरीले व्यवस्थापनको पाटो मिलाउनेछ’, पाण्डेले भने ।
भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो । भूकम्पले क्षतिग्रस्त मन्दिर विसं २०७७ मा पुनर्निर्माण भएपछि भक्तजनलाई खुला गरिँदै आएको छ ।

