

सभापति देउवाद्वारा डा.उप्रेतीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना नेता एवं पूर्वसांसद डा. शङ्करप्रसाद उप्रेतीको निधनप्रति दुःख व्यक्त गरेका छन् । काँग्रेस झापाका नेता डा. उप्रेतीको शनिबार राति ८८ वर्षका उमेरमा काठमाडौँमा निधन भएको हो ।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनबाट आफूले एक पुरानो साथी, पार्टीले एक निष्ठावान् अग्रज र समाजले अथक समाजसेवी गुमाएको जनाएका छन् । सभापति देउवाले उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । विसं २०४६ को परिवर्तनपछि कांग्रेसका तर्फबाट छ वर्षसम्म राष्ट्रियसभाका सदस्य रहेका उप्रेतीले पञ्चायत विरोधी आन्दोलनका क्रममा पटकपटक कारागार भोगेका थिए ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका उप्रेतीले चिकित्सकका रुपमा विसं २०१८ मा कैलालीको धनगढीबाट सेवा शुरु गरेर पछि भोजपुर हुँदै झापाको शनिश्चरेमा आफ्नै घरमा क्लिनिक स्थापना गरी करीब ५० वर्ष चिकित्सा सेवा गरेका थिए । आर्थिक रुपले सामान्य स्थितिमा रहेका जोकोही नागरिकले उनीबाट निःशुल्क उपचार पाउने गरेका थिए । उनको आजै पशुपतिमा दाहसंस्कार गरिएको छ । स्व. उप्रेतीका छोरा प्रा. डा. सञ्जीव उप्रेती रहेका छन् ।

