यसपटकको तिहार २५ गतेदेखि सुरू, कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन


काठमाडौं — यो वर्षको तिहार पर्व कात्तिक २५ गतेदेखि सुरु हुँदै छ । तिहारका जम्मा पाँच दिन हुन्छ । जसलाई यमपञ्चकका पाँच दिन भनिन्छ ।

कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि यसै महिनाको शुक्लपक्षको द्वितीयासम्मका पाँच तिथिलाई यमपञ्चक भनिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

‘यो वर्ष, २०८० सालमा कार्तिकको २५ गते शनिबार त्रयोदशी तिथि छ, सूर्योदयकालमा । त्यसको भएकाले पहिलो तिहारको दिन यही भयो, जुन दिन यमराजको दूतको रूपमा हामीले कागको पूजा गर्छौँ,’ उनले भने, ‘हामी प्रकृतिको पुजारी हौँ र कागको पूजा गर्छौँ, यही दिन ।’

कात्तिक २६ गते कुकुरपूजा, सोही दिन दिउँसो २ बजेपछि औँसी तिथि लाग्ने भएकाले साँझ लक्ष्मीको पूजा–आराधना गरिने उनले बताए ।

‘औँसी तिथि जुन दिन पर्छ, साँझ र अर्धरात्रिकालमा, त्यही दिन लक्ष्मीपूजा गर्नुपर्छ । २६ गते आइतबार दिउँसो २ बजेपछाडि औँसी तिथि लाग्ने भएको हुनाले बिहान कुकुरको पूजाहरू गरेर साँझदेखि नै लक्ष्मीको पूजा–आराधना गरिन्छ,’ उनले भने, ‘साँझमा लक्ष्मीलाई भित्र्याउने, पूजा गर्ने गरिन्छ । कसैले अर्धरात्रिकालमा पनि पूजा गर्छन् । तर, लक्ष्मीको साँझमा भित्र्याएर अलक्ष्मीलाई चाहिँ राति १२ बजे बहिर्गमन गराउने हो ।’

 

प्रतिक्रिया