

तरुण दलको स्थापना दिवसमा दिप प्रज्वलन

काठमाडौं – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणको दलको ७१ औं स्थापना दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
तरुण दलको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच दलको स्थापना दिवसका अवसरमा नेपाली राजनीतिमा तरुण दलको भूमिकाका बारेमा छलफल पनि भएको थियो ।
नेपाल तरुण दलका पूर्वअध्यक्ष जितजंग बस्नेतको प्रमुख आतिथ्यता र तरुण दलका केन्द्रीय सदस्य दिनेश राईको संयोजकत्वमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त अवसरमा तरुण दलको आगामी दिनको भूमिकाका बारेमा चर्चा गरिएको थियो । उक्त अवसरमा बस्नेतले तरूण दल एक ढिका भएर अगाडि बढ्नुपर्ने जनाउँदै तरूण दलबीचको एकताबाट मुलुकले राजनीतिक निकास पाउन सक्ने जनाए ।
त्यस्तै केन्द्रीय सदस्य राईले तरूण दलकाे मजबुद भएको कुराको अाभास गराउनुपर्ने जनाउँदै संगठनलाइ बलियो बनाउनु सबै तरूणहरूको दायित्व भएको जनाए ।
कार्यक्रममा तरुण दलका केन्द्रीय सदस्य पशुपति पोखरेल, सोनाम थिङ, सुमन गिरी, अशोक झा, विवेक श्रेष्ठ, रितु गम्दाङलगायतका ५० भन्दा बढी केन्द्रीय सदस्यहरुको सहभागिता रहेको थियो ।
उक्त अवसरमा प्रमुख अतिथि एवं पूर्वअध्यक्ष बस्नेतले कार्यक्रममा सहभागीहरुलाई दशैंको टिका समेत लगाइदिएका थिए ।
२०१० कात्तिक १० गते कांग्रेसका तत्कालीन सभापति बीपी कोइरालाको मूल प्रेरणामा स्थापना भएको तरुण दलको संस्थापक अध्यक्षमा सिंहध्वज खड्का थिए ।
त्यसपछि विसं २०१७ पुस १ गते तत्कालीन प्रधानमन्त्री बीपीले तरुण दलको कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला राजा महेन्द्रले सेनाको बलमा प्रधानमन्त्री बीपीलगायत सबै नेतालाई थुनेर ‘कु’गरेका थिए । राजाले दलमाथि प्रतिबन्ध लगाएको अवस्थामा तरुण दल पनि निस्क्रिय हुन पुगेको थियो ।
२०५४ मा नेपालगञ्जमा भएको कांग्रेसको महासमिति भेलामा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गरेका थिए । त्यसयता तरुण दलमा महादेव गुरुङ, विनोद कायस्थ, महेन्द्र यादव, उदयशम्शेर राणा, जितजंग बस्नेत र हाल विद्वान गुरूङ अध्यक्ष छन् ।

