

देशभर १३६ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, सबैभन्दा धेरै सुदूरपश्चिममा

काठमाडौँ – ७ सय ५३ स्थानीय तहमध्ये १ सय २८ वटामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहेको छ ।
जसमध्ये सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै ३६ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको पद खाली छ भने कम लुम्बिनी प्रदेशमा ५ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ ।
देशभरका २७६ नगरपालिका मध्ये ६१ र ४६० गाउँपालिका मध्ये ६७ वटामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ । तर, ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा भने यो समस्या छैन ।
सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये ३६, मधेस प्रदेशका १ सय ३६ स्थानीय तहमध्ये २७ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रिक्त छ । कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये २०, बागमती प्रदेशका ११९ मध्ये ११, गण्डकी प्रदेशका ८५ मध्ये ७, लुम्बिनी प्रदेशका १०९ मध्ये ४ र कर्णाली प्रदेशका ७९ मध्ये २२ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पद रिक्त रहेको छ । केही स्थानीय तहमा निमित्त तोकिएको मन्त्रालयले जनाएको छ ।
कोशी प्रदेशका ४६ नगरपालिका मध्ये ७ र ८८ गाउँपालिका मध्ये १३ मा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको छ । मधेस प्रदेशका ७३ नगरपालिका मध्ये २१ र ५९ गाउँपालिका मध्ये ६ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन् । बागमती प्रदेशका ४१ नगरपालिका मध्ये १ र ७४ गाउँपालिका मध्ये १० रिक्त छन् ।
यसैगरी गण्डकी प्रदेशका २६ नगरपालिका मध्ये २ र ५८ गाउँपालिका मध्ये ५ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त छ । लुम्बिनी प्रदेशका ३२ नगरपालिका मध्ये २ र ७३ गाउँपालिका मध्ये ३ मा प्रमुख प्रशासकीय अधिकृत रिक्त छ । कर्णाली प्रदेशका २५ नगरपालिका मध्ये ११ र ५४ गाउँपालिका मध्ये ११ रिक्त छ । सुदूरपश्चिम प्रदेशका ३३ नगरपालिका मध्ये १७ र ५४ गाउँपालिका मध्ये १९ मा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको मन्त्रालयले जनाएको छ । २० जना कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत पद रिक्त रहेका ६१ नगरपालिका मध्ये सङ्खुवासभाको चैनपुर नगरपालिका, सर्लाहीको ईश्वरपुर, हरिपूर्वा र हरिवन नगरपालिका निमित्त समेत तोकिएको छैन । यसैगरी धनुषाको विदेह, बाराको महागढीमाई र पचरौता, पर्साको बहुदरमाई, नुवाकोटको विदुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती र बैतडीको पचौँडी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत तोकिएको छैन ।
प्रमुख प्रशासकीय अधिकृत नभएका ६७ वटा गाउँपालिका मध्ये पाँचथरको याङवरक, सोलुखुम्बुको महाकुलुङ, खोटाङको साकेला, सर्लाहीको विष्णु, पर्साको धोबिनी, ललितपुरको बागमती, पर्वतको विहादी, बर्दियाको बढैया ताल गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत छैनन् ।
साउन अन्तिम साता मन्त्रालयको जिम्मेवारी सम्हालेकी अनिता देवी साहले २० जनालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएकी छन् । पछिल्लो समय ९ प्रशासकीय अधिकृतलाई थप पालिकाको जिम्मेवारी पनि दिइएको छ । मन्त्रालयले एक जनालाई तीन वटासम्म पालिकाको जिम्मेवारी प्रदान गरेको छ ।

