प्रधानमन्त्री ओली–गौतम वार्ताः प्रचण्डले अप्रिय कदम चाले यस्तो छ गोप्य सहमति


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता अभियान चलाइरहेका नेता बामदेव गौतमले विभाजनको अवस्था आएको खण्डमा आफू जनताको बहुदलीय जनवाद (जबज)को पक्षमा उभिने बताएका छन्।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा शुक्रबार लामो वार्ता गरेका उनले जबजको जगमा नै एकता भएका कारण त्यसको विपक्षमा आफू उभिन नसक्ने बताएका थिए।

ठूलो योगदानका कारण पार्टी एकीकरण भएको बताएका उनले अहिले अन्य दलले पनि नेकपाको विभाजन चाहेको बताउँदै तत्काल रोकेर सहमतिको बाटोमा हिँड्न ओलीलाई प्रस्ताव गरेका थिए।

नेकपाको एउटा पक्षको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्डले एमालेमा विभाजन ल्याउने प्रयत्नलाई एक हदसम्म सफल भएको र एकताको सहमतिभन्दा पर पुगेको र त्यसमा माधव नेपाल, झलनाथ खनालहरू बहकिएको ओलीको भनाई थियो।

गौतमले ओलीसँग प्रधानमन्त्री या अध्यक्ष मध्ये एउटा मात्र पद रोजेर बसे अहिले पनि नेकपा विभाजनबाट रोकिने प्रस्ताव गरेका थिए। ओलीले भने प्रधानमन्त्रीमा आफ्नो कार्यकाल पूरा गर्ने बताउँदै अध्यक्षमा गौतमका नाममा अन्य सहमत भए आफूले त्यो जिम्मेवारी त्याग्न तयार रहेको बताएको स्रोतले जनाएको छ।

प्रचण्डले गुटबन्दी गरी चालै नदिई पार्टीबाहिरबाट अविश्वासको प्रस्ताव तयार पारेको र नेकपा छिन्नभिन्न बनाउने अवस्था आएपछि प्रतिनिधि सभा विघटनको विकल्प आफूले नपाएको गौतमलाई ओलीको कथन थियो।

स्रोतका अनुसार अहिले पनि पूर्वएमालेका नेता तथा सांसदलाई ध्रुवीकरण गराउन सकिने र प्रचण्ड अल्पमतमा पर्न सक्ने आँकलन गौतमलाई सुनाएका थिए।

गौतमले यसअघि बुधबार प्रचण्डसँगको वार्ताका क्रममा नेकपा एकीकरण जोगाउनका लागि आत्माआलोचनासहितका विविध विकल्पका प्रस्तावमा छलफल गर्न सकिने बताएका थिए।

प्रतिक्रिया