

दुर्घटना हुँदा सडकमा ढलेका तिमिल्सिनाको टिप्परले किचेर मृत्यु

काभ्रेपलाञ्चोक – काभ्रेको पाँचखालमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर–६ मा टिपरले किच्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।
पाँचखालको चामुन्डा पेट्रोल पम्म नजिक मोटर साइकल र स्कुटी एक आपसमा ठक्कर खाई सडकमा ढलेको अवस्थामा टिपरले किच्दा स्थानीय एक व्यापारीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पाँचखाल नगरपालिका वडा नम्बर– ६ घर भएका व्यवसायी नारायण तिमल्सिना रहेका छन् । प्रहरीका अनुसार पाँचखाल तामाघाट बजारमा रहेको पसल बन्द गरी घर फर्किने क्रममा दुर्घटनामा परी तिमल्सिनाको मृत्यु भएको हो ।
पाँचखालबाट ३८ किलो भन्ने स्थानतर्फ जाँदै बा ७२ प ९७६२ नं। को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा. प्र.०२–०२४ प २५०१ नं. को स्कुटर एक आपसमा ठोक्किएका थिए । मोटरसाइकल र स्कुटर ठोक्किएर लड्दा पाँचखालबाट धुलिखेल तर्फ आउँदै गरेको बा.प्र.०१–००४ क २३२८ नम्बरको टिपरले तिमल्सिनालाई किचेको उनको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सवारी दुर्घटना पश्चात स्थानीयले अरनिको राजमार्ग पूर्ण रुपमा बन्द गरेका छन् । बन्द सडक खुलाउनको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको ठुलो उपस्थिति रहेको छ । घटनास्थलबाट शव उठाउन प्रहरीले प्रयास गरेपनि स्थानीयले दोषीमाथि कारबाहीको माग गर्दै शव उठाउन दिएका छैनन् ।

