

इजरायलमा ज्यान गुमाएका नेपालीको शव ल्याउन समय लाग्ने

काठमाडौं – इजरायलमा शनिबार हमासको आक्रमणमा परी ज्यान गुमाएका १० नेपाली विद्यार्थीको शव नेपाल ल्याउन अझै केहि समय लाग्ने भएको छ ।
परराष्ट्र मन्त्रालयमा आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायलमा ज्यान गुमाएका १० नेपालीको शव स्वदेश ल्याउन केहि समय लाग्ने देखिएको जानकारी दिएकी हुन् ।
उनका अनुसार १० विद्यार्थीको शव आज (मंगलबार) राति इजरायल जाने नेपाल एयरलाइन्सको विमानले नेपाल ल्याउने छैन ।
शव इजरायल सरकारले हस्तान्तरण गर्नुपर्ने भएकाले नेपाल ल्याउन केही समय लाग्ने प्रवक्ता लम्सालले जानकारी दिएकी छन् । ‘इजरायल सरकारको शव हस्तान्तरणको प्रोटोकल छुट्टै हुने भएकाले आज जाने नेपाल एयरलाइन्सको विमानले शव ल्याउँदैन,’ उनले भनिन्, ‘परिवारजनले यो प्राविधिक पक्षलाई बुझिदिनु पर्ने हुन्छ, त्यसका लागि आग्रह गर्छौ ।’

