

अध्यक्ष ओलीलाई स्वागत गर्न एमाले कार्यकर्ता जनकपुर विमानस्थलको सुरक्षा घेरा तोडेर धावनमार्गमा

काठमाडौं – नेकपा एमालेका कार्यकर्ताहरू अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न जनकपुर विमानस्थलको धावनमार्गमै पुगेका छन्। एमाले कार्यकर्ताहरू सुरक्षा घेरालाई चुनौती दिएर धावनमार्गमा प्रवेश गरेको विमानस्थल प्रमुख भीमदत्त पन्तले बताए।
एमाले मधेश प्रदेश अधिवेशन उद्घाटनका लागि अध्यक्ष ओली यति एयरलाइन्सको जहाजबाट बुधबार जनकपुर विमानस्थल पुगेका थिए।ओलीलाई स्वागतका लागि एमाले कार्यकर्ताहरू जहाजकै ढोकामा पुगेका थिए।
यसबारे विमानस्थल प्रमुख पन्तलाई जिज्ञासा राख्दा एमाले कार्यकर्ताहरूले सुरक्षाको घेरालाई चुनौती दिएर विमानस्थलभित्र पसेको र जहाजको ढोकामै पुगेको जवाफ दिए। अध्यक्ष ओली जनकपुर आउने भएपछि बुधबार बिहानै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भएको उनले बताए।
विमानस्थलमा मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी जनक भट्टराई, प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेलगायत पुगेका थिए।

