


निमित्तकै भरमा नेपालका सबै सुरक्षा निकाय !

काठमाडाैं – कुनै पनि सरकारी निकायमा जिम्मेवार व्यक्ति उपस्थित हुन नसकेको खण्डमा मातहतको व्यक्तिलाई जिम्मेवारी दिएर कार्यालयबाहिर वा विदेश जान सकिने प्रावधान रहेको छ । त्यसैमाथि सरकारी एवं व्यावसायिक कार्यका लागि देश वा विदेश जाँदा जिम्मेवारी दिइनेछ ।
यस्तै भइरहेको छ, यतिबेला नेपालको सबै सुरक्षा निकायमा । नेपालका सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरु यतिबेला नेपालमा छैनन् । तीनवटै निकाय अहिले कायममुकामका नेतृत्वमा रहेका छन् । नेपाली सेना र नेपाल प्रहरीका संगठन प्रमुखहरु बेलायत पुगेका छन् भने सशस्त्र प्रहरी बलका प्रमुख अमेरिका प्रस्थान गरिसकेका छन् ।
नेपाली सेनामा प्रधानसेनापति प्रभुराम शर्मा र सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले जिम्मेवारी दिएका अधिकृतले कार्यभार सम्हालिरहेका छन् भने नेपाल प्रहरीमा भने आईजीले जिम्मेवारी दिएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पनि अर्का एआईजीलाई जिम्मेवारी दिँदै अमेरिका गएका छन् ।
नेपाल प्रहरीका आईजी महानिरीक्षक बसन्तबहादुर कुँवर शनिबार बेलायत गएका हुन् । चार सदस्यीय बरिष्ठ प्रहरी अधिकृतहरुको नेतृत्व गर्दै बेलायत गएका आईजी कुँवरले एआईजी टेकप्रसाद राईलाई जिम्मेवारी दिँदै बेलायत प्रस्थान गरेका थिए । उनै एआईजी राई मंगलबार अर्का एआईजी दीपक थापालाई जिम्मेवारी दिँदै अमेरिका प्रस्थान गरेका छन् ।
बेलायतमा असोज २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने ‘इन्टिग्रेटेट प्रोगाम फर स्ट्रेङ्थेनिङ सेक्युरिटी एन्ड जस्टिस’ कार्यक्रम हुँदैछ । नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै महानिरिक्षक कुँबरको टोली बेलायत गएका हुन् । टोलीमा प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षकद्वय दानबहादुर कार्की र शेखर खनाल छन् ।
त्यस्तै उनको कार्यभार सम्हालिरहेका एआईजी राई अमेरिकामा सान डिएगो, क्यालिफोर्नियामा असोज २७ देखि ३० गतेसम्म संचालन हुने ‘International Association of Chief of Police Conference’ विषयक कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन प्रस्थान गरेको हुन्। उक्त टोलीमा निमित्त प्रहरी नायव महानिरीक्षक (डिआईजी) द्वय दुर्गा सिंह र केदार ढकाल सम्मिलित रहेका छन् ।
त्यस्तै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आइतबार प्रस्थान गरेका छन् । बेलायतका चिफ अफ द जनरल स्टाफ जनरल सर प्याट्रिक स्यान्डर्सको निमन्त्रणामा छ दिने औपचारिक भ्रमणका लागि उनी बेलायत गएका छन् ।
प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने जनाइएको छ भने प्रधान सेनापति शर्मा यही असोज २७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रधानसेनापतिको भ्रमण दलमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकाल तथा प्रधान सेनापतिका स्टाफ अधिकृत सहभागी छन् ।
त्यस्तै सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्याल मंगलबार अमेरिका प्रस्थान गरेका हुन् । अर्याल यही असोज २७ देखि ३० गते (अक्टोवर १४ देखि १७) सम्म संयुक्त राज्य अमेरिकाको सान डिएगो क्यालिफोर्नियामा संचालन हुन गइरहेको ‘International Association of Chief of Police Conference’ मा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गरेका हुन् । उनको साथमा डीआईजी शम्भु सुवेदी समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।
आईजी अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलले पाएका छन् ।

