

एमाले मधेस प्रदेश अधिवेशन आजदेखि, उद्घाटनका लागि जनकपुर जाँदै अध्यक्ष ओली

जनकपुरधाम- नेकपा एमाले मधेस प्रदेशको अधिवेशन आजदेखि यहाँ सुरु हुँदैछ ।
नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए ।
उनले एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको जानकारी दिए ।
अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालले जनाएको छ ।
अधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने र प्रतिनिधि छनोटका लागि प्रदेश कमिटी अध्यक्ष रामअवतार यादवको संयोजकत्वमा समिति बनाई प्रदेशका एक सय ३६ वटै पालिकामा निर्वाचन समितिसमेत गठन गरिएको छ ।

