

इजरायलमा ज्यान गुमाएका दार्चुलाका धामी र विष्टको परिवारलाई भेट्न पुगे सीडीओसहितको टोली

दार्चुला – शनिबार बिहान प्यालेस्टायनी उग्रवादी संगठन हमासले गरेको आक्रमणमा परी इजरायलमा १० जनाले ज्यान गुमाएका छन् । जसमध्ये दार्चुलाका दीपेश राज विष्ट र लोकेन्द्र धामीको परिवारलाई प्रमुख जिल्ला अधिकारीसहतिको टोलीले भेटका छन् ।
सोमबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरीको नम्बर ४४ गणका गणपति तथा एसपी डम्बरबहादुर विष्ट, जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी शिवबहादुर सिंह र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख डीएसपी भगिन्द्रबहादुर चन्दसहितको टोलीले मृतकको परिवारसँग भेटघाट गरेको हो।
सोमबार धामीको परिवारलाई घरमै पुगेर सीडीओसहितको टोलीले भेटघाट गरेको थियो। त्यतिबेला परिवारका सबै सदस्य विक्षिप्त अवस्थामा थिए। पीडित परिवारले जतिसक्दा चाँडो शव नेपाल ल्यादिन सीडीओसहितको टोलीसँग आग्रह गरेको थियो।
यता विष्टको परिवारलाई पनि सीडीओको टोलीले भेटघाट गरेको थियो। उनीहरु दार्चुलाबाट महेन्द्रनगर जान भनेर आएका थिए। तर विष्टकी आमा बेहोस भएपछि दार्चुलाकै गोकुलेश्वरमा स्लाइन पानी दिएर राखेको अवस्थामा सीडीओको टोलीले भेटेको थियो।
उनीहरुले अब जे हुन् भइनै सक्यो जतिसक्दो चाँडो शव नेपाल ल्याइदिन आग्रह गरेका थिए। नेपाल सरकार तथा सीडीओ कार्यालयबाट गर्नुपर्ने काम र पहलमा कुनै कमी हुन नदिई आफू लाग्ने सीडीओ जोशीले प्रतिबद्धता व्यक्त गरेका थिए।
पीडित परिवारलाई सान्त्वना दिँदै उनीहरुले आफूहरुका तर्फबाट गर्न सकिने जति पहल गर्ने भन्दै जतिसक्दो चाँडो अब नेपाल ल्याउन सहयोग गर्ने बताएका थिए। यी दुवै परिवारको आर्थिक अवस्था पनि कमजोर रहेको पाइएको सीडीओसहितको टोलीले जनाएको छ।

