


सरकारको प्राथमिकता उद्योग क्षेत्रमा पर्न सकेन : उपाध्यक्ष शाक्य

काठमाडौं – नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सरकारको प्राथमिकता उद्योग क्षेत्रमा पर्न नसकेको जिकिर गरेका छन् । बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र नेपाल हस्तकला महासङ्घले आज काठमाडौंमा आयोजना गरेको ‘प्राकृतिक रेशामा प्रविधिको भूमिका’ विषयक कार्यक्रममा उनले सरकारको प्राथमिकतामा कहिल्यै पनि उद्योग क्षेत्र पर्न नपरेको दाबी गरे ।
‘सरकारले उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेको भए नेपालमा रहेका धेरै उद्योग डुब्ने थिएनन्, अहिले पनि उद्योग क्षेत्र सरकारको प्राथमिकतामा परेको छैन’, उनले भने । उनले आफू उद्योगमन्त्री भएकाले बेला उद्योग नीति परिमार्जन गरेको स्मरण गर्दै उद्योग क्षेत्रको विकासबिना मुलुकको विकास सम्भव नभएको बताए । उनले नेपालमा प्राकृतिक रेशाजन्य पदार्थ थुप्रै भए पनि तिनीहरुलाई भरपुर प्रयोग गर्न नसकेको उल्लेख गरे ।
विज्ञ व्यक्ति, अनुसन्धानकर्ता र नेपाल हस्तकला महासङ्घ मिलेर प्राकृतिक रेशाजन्य पदार्थको अध्ययन, अनुसन्धान, उत्पादन र बजारीकरणमा लाग्नुपर्ने उनको भनाइ थियो । उनले उद्योगको विकासका लागि प्रविधिको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
हस्तकला महासङ्घ उद्योगी व्यवसायीको अभिभावक संस्था बनेर अगाडि बढ्नुपर्ने उपाध्यक्ष शाक्यको भनाइ थियो । उनले राजनीतिक उतारचढावका कारण मुलुकको अर्थतन्त्र र उद्योग क्षेत्रमा समस्या आएको बताए । व्यापार तथा निकासी प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक शरदविक्रम राणाले विश्वका अन्य मुलुकमा नभएका प्राकृतिक रेशाजन्य पदार्थ नेपालमा भएकाले यसलाई भरपुर उपयोग गर्नुपर्ने बताए ।
“मुलुक समृद्ध बन्नका लागि हामीसँग भएका वस्तुलाई उत्पादन गरेर विदेशी बजारसम्म लैजानुपर्छ”, उनले भने । कार्यकारी निर्देशक राणाले नेपालमा भएका हस्तकला उद्योगले महिलाको सहभागितालाई समेत बढाउँदै लगेको बताए ।
नेपाल हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले नेपालमा विदेशी मुद्राआर्जन गर्ने महत्वपूर्ण माध्यम हस्तकला भएकाले सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए । कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष शनम शाक्य, उद्योग उपाध्यक्ष दिव्यतारा तुलाधर, उपाध्यक्ष दीपेन्द्र शाक्यलगायतले नेपालमा उत्पादित परम्परागत हस्तकलालाई नयाँ प्रविधिसँग जोड्न सकेमात्र हस्तकला क्षेत्रको हुने बताएका थिए ।
कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक डा राजेन्द्र सिंहले प्राकृतिक रेशाको आयत तथा निर्यातको अवस्था, इञ्जिनियर प्रकाश झाले प्राकृतिक रेशाको हालको अवस्था, समस्या र प्रविधिको भूमिका र वरिष्ठ उद्यमी श्यामबन्दन श्रेष्ठले प्राकृतिक रेशाका विभिन्न वस्तु र उत्पादन डिजाइनबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

