

सत्ता खेलमा नलाग्ने कांग्रेसको निर्णय, नेकपाको विभाजनपछि समीकरण तय गर्ने ‘रिजर्भेशन’

काठमाडौं– नेपाली कांग्रेसले तत्काल सरकार नेतृत्व वा समीकरणको खेलमा नलाग्ने निर्णय गरेको छ।
विहीबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। सरकारको समीकरण तय गर्नका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुई खेमाको प्रस्तावबारे देउवाले ब्रिफिङ गरेपछि नेताहरू तत्काल सरकारमा नजाने निर्णयमा पुगेका हुन्।
तर, नेकपा दुईवटा पार्टी बनेको, विभाजन भएको खण्डमा भने समीकरणको रिजर्भेशनचाहिँ कांग्रेसले राखेको छ। यसको अर्थ प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विभाजन भएको खण्डमा कुनै एक पार्टीसँग समीकरण तय गर्न सकिने कांग्रेसको निर्णय हो।
एक नेताले भने,‘अहिले नेकपा विभाजन भएको छैन, विभाजन भएको खण्डमा कुनै एक पार्टीसँग समीकरण बन्न सक्ला। तर त्यो भनेको पछिको कुरा भयो। त्यसबेलाको अवस्थामा कांग्रेसले तटस्थ बस्ने निर्णय पनि गर्न सक्छ।’
प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि नेकपाको प्रचण्ड–माधवकुमार नेपाल पक्षले सरकार नेतृत्वका लागि तयार रहन सभापति देउवालाई बुढानिलकण्ठ पुगेरै प्रस्ताव गरेका थिए।
देउवाले पार्टीमा छलफल गरेपछि मात्र निर्णय दिने बताएका थिए। प्रचण्ड–नेपाल पक्षले जनता समाजवादी पार्टीसँग पनि सत्ता समीकरणका विषयमा प्रस्ताव राखेको थियो। उक्त पार्टीले पनि विभाजन भएको खण्डमा मात्रै कुरा गर्न सकिने संकेतसहित भनेको थियो,‘तपाईको पार्टी कुन हो?’
बैठकपछि पत्रकारहरुसँग बोल्दै सह–महामन्त्री डा. प्रकाशशरण महतले नेकपाको अधिकारिता नटुंगिएसम्म आफूहरु हचुवाका भरमा कतै नलाग्ने निर्णय भएको सुनाए।
अहिले सत्ता समीकरणको कुरा हुन नसक्ने बताउँदै महतले भने,‘कानुनी रुपमा उक्त पार्टी विभाजन भएको अवस्थामा कांग्रेसले सोच्न सक्छ।’

