बिहीबारदेखि मौसममा क्रमिक सुधार हुने


काठमाडौं – ३ दिन देखि परेको अविरल वर्षा भोली (बिहिबार) देखि क्रमिक सुधार हुने मौसमविदले बताएका छन् । सोमबार राति देखि परेको पनी आज पनि दिनभरी नै पर्ने र बुधबार रातिदेखि वर्षा कम हुँदै जाने पूर्वानुमान रहेको मौसमविद् रोजन लामिछानेले बताए ।

‘सुदूरपश्चिम, कर्णाली प्रदेशमा आजैबाट मौसममा सुधार भइरहेको छ । भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले लुम्बिनी प्रदेशदेखि पूर्वतर्फ तीन दिनयता वर्षा भइरहेको छ । गत २४ घण्टामा सबैभन्दा बढी वर्षा लुम्बिनी, गण्डकी र बागमती प्रदेशका जिल्लाहरुमा रेकर्ड भएको छ ।

नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति अक्टुबर २ तारिख भए पनि अहिलेको प्रणालीको प्रभावले बहिर्गमनमा ढिलाइ भएको छ । तर केही दिनभित्रै वर्षा गराउने अहिलेको प्रणाली नेपालबाट बाहिरिने र त्यसपछि हिउँद सुरु हुने मौसमविदले बताएका छन् । यस वर्षको मनुसन नेपालमा सरदर मितिभन्दा एक दिन ढिला गरी जुन १४ तारिख (जेठ ३१ गते) भित्रिएको थियो ।

नेपालबाट मनसुन बाहिरिने समयमा परेको पानीले किसानलाई मर्का परेको छ । पाकेको धान काट्न र भित्र्याउन नपाउदा किसान चिन्तित छन् । वर्षाका कारण मौसम विभागले एक साता धान नकाट्न आग्रह गरेको छ ।

प्रतिक्रिया