

श्रीमान् हत्याराको आममाफीविरुद्ध रिले अनसनमा बसिन् भारती

काठमाडौं – श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध भारती मानन्धरले अनसन थालेकी छन् ।
न्यायका लागि नेपालगञ्जबाट काठमाडौं आएकी भारतीले माइतीघरमा रिले अनसन बसेकी हुन् । आज २ घण्टा अनसन बस्ने बताइएको छ । त्यसपछि उनको समर्थनमा आशिष मल्ल ठकुरी, दीपक थापा, गणेश जोशी अनसन बस्ने छन् ।
भारतीले आममाफी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी छन् । आज उनको मुद्दाको प्रारम्भिक सुनुवाइ छ । सर्वस्वसहित जन्मकैद पाएका तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएको थियो ।
रिपोर्टस क्लबमा मंगलबार उनले मान्छे मारेर आममाफी पाउने भए बदला लिनका लागि आफूलाई हतियार दिन सरकारलाई आग्रह गरेकी छिन् ।
२०७२ सालमा नेपालगञ्जमा चेतनलाई रिगलकै योजनामा खुँडा प्रहार गरी हत्या भएको भन्दै अदालतले दोषी ठहर गरेको थियो । वर्षौं लगाएर पाएको न्याय छिन्ने अधिकार राष्ट्रपतिलाई नभएको उनको भनाइ छ ।

