पानीको बहाव घटेसँगै सतीघाटमा सञ्चालित फेरी सञ्चालनमा


टक्सार (भोजपुर) – भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीमा सञ्चालित फेरी पुनः सञ्चालन भएको छ । भोजपुर उत्तर षडानन्द नगरपालिका-६ र सङ्खुवासभाको खाँदबारी नगरपालिका-९ को सिमानामा पर्ने अरुण नदीको सतीघाटमा सञ्चालित फेरी पुनः सञ्चालन भएको हो ।

अरुण नदीमा पानीको बहाव कम भएसँगै बन्द रहेको फेरी पुनः सुरु भएको षडानन्दका प्रमुख प्रशासकीय अधिकृत विनोद भण्डारीले बताए । उनले भने, ‘नदीमा पानीको बहाव बढेका कारण सेवा बन्द भएको थियो, तर अहिले पानीको सतह कम भएकाले पुनः सञ्चालनमा आएको हो ।’

फेरी बन्द भएपछि जिल्लाको उत्तरी क्षेत्रबाट तराईका जिल्लाहरुमा आवतजावत गर्न त्यस क्षेत्रका नागरिकलाई समस्या हुँदै आइरहेको थियो । गत जेठबाट अरुण नदीमा सञ्चालित फेरी बन्द भएको थियो ।

फेरी बन्द भएका कारण तराईका जिल्लासम्म सहजरुपमा यातायातका साधन आवत जावतमा समस्या हुँदै आएको स्थानीय सौगात गौतमले बताए । उनले भने, “दसैं लगायतका चाडपर्व नजिक रहेको अवस्थामा फेरी पुनः सञ्चालनमा आएको छ, यसले सहजता कायम गरेको छ ।”

अरुण नदीको बहाव पूरै नघटुन्जेलका लागि अहिले हलुका सवारी साधनमात्र फेरीमार्फत आवतजावत गरिने षडानन्द नगरपालिकाले जनाएको छ । नदीमा पक्की पुल बन्न नसक्दा पानीको बहाव बढेपछि फेरी सेवासमेत बन्द हुने अवस्था छ ।

प्रतिक्रिया