

नेपालमा अझै एक साता मनसुन रहने, तत्काल धान नकाट्न विभागको आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएको छ । सामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ ।
वरिष्ठ मौसमविद् वरुण पौडेलले विभिन्न विष्लेषणका आधारमा आज मौसम बाहिरिने दिन अनुमान गरिए पनि यसपाली मनसुन केही दिन लम्बिएको बताए । उनले अझै मनसुन बाहिरिन झण्डै हप्ता दिन लाग्नसक्ने अनुमान रहेको बताए ।
यो बेलामा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रसमेतको प्रभाव रहेको छ । अबको केही दिन मौसम बदली हुने र ठाउँठाउँमा वर्षासमेत हुने जानकारी दिए । जसका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ ।
यो वर्ष नेपालमा जनु १४ अर्थात् जेठ ३१ मा मनसुन भित्रिएको थियो । तर त्यसको ९ दिनपछि मात्रै असार ८ गते मनसुन देशैभरी फैलिएको थियो । शुरुमा कोसी प्रदेश, मधेश र गण्डकी प्रदेशको पूर्वी भुभाग र बागमती प्रदेशका अधिकांश भू–भागमा मनसुन आगमन भएको थियो । यसपाली मनसुनको शुरुआती समयमै पूर्वी नेपालमा भारी भारी वर्षापछिको बाढी र पहिरोले वितण्डा मच्चाउँदा ठूलो धनजनको क्षति भएको छ ।
यसपाली १२ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान थियो । मनसुनका समयमा औषतभन्दा कम पानी पर्ने आकलनसमेत गरिएको थियो । औषतभन्दा कम पानी पर्ने अनुमानका बीच केही स्थान केन्द्रित भएर मनसुनी वर्षा हुँदा भने पूर्वी र पश्चिम नेपालललगायत केही स्थानमा भने ठूलो जनधनको क्षति गराएको छ ।

