एमाले कर्णाली अधिवेशन : मतगणना भइरहेको सिटी हलमा कार्यकर्ताद्वारा तोडफोड


काठमाडौं – नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन भइरहेको वीरेन्द्रनगर सिटी हल तोडफोड भएको छ। आज दिउँसो मतगणना सुरू भएलगत्तै एमाले निकट अनेरास्ववियुका कार्यकर्ताहरूले सिटी हलमा तोडफोड गरेका हुन्।

अधिवेशनमा उपस्थित एक नेताका अनुसार निर्वाचन कमिटीको सदस्य रहेका सत्य शाही र प्रदेशका एक नेताबीच आइतबार विवाद उत्पन्न भएको थियो।

त्यसपछि सत्य शाहीलाई कारबाही गरी अधिवेशनको निर्वाचन कमिटीबाट हटाइएको थियो। आज दिउँसो मतगणना सुरू हुन लाग्दा उनीपनि सिटी हलमा उपस्थित भइ मतगणना स्थलमा आफू पनि बस्न पाउनुपर्ने अडान राखेर मतगणनामा अवरोध गरेपछि निर्वाचन कमिटीले उनलाई प्रहरीको जिम्मा लगाएको थियो।

पार्टीभित्रको आन्तरिक विवाद पार्टीमै मिलाउनुपर्नेमा सत्य शाहीलाई प्रहरीको जिम्मा लगाइएको भन्दै अनेरास्ववियुका कार्यकर्ताहरू सिटी हलमा पुगेर प्रदर्शन गरेका थिए। उनीहरूले गेटमा लात्ती प्रहार गर्दा गेटको सिसा फुटेको छ । शाही अनेरास्ववियुको केन्द्रीय निर्वाचन आयोग प्रमुख हुन् ।

प्रतिक्रिया