

जेठमा एकता महाधिवेशन गर्ने तयारीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी

काठमाडौँ – क्रान्तिकारी नेपाल कम्युनिस्ट पार्टीले आगामी जेठमा एकता महाधिवेशन गर्ने भएको छ ।
ललितपुरस्थित मजदुरको कार्यालय कुपन्डोलमा १३ र १४ गते बसेको सचिवालय (पोलिटब्युरो) बैठकले एकताको महाधिवेशन जेठमा गर्ने प्रस्ताव गरेको एक नेताले जानकारी दिए ।
महाधिवेशनको तयारीका लागि मङ्गलवार अध्यक्ष मोहन वैद्यले केन्द्रीय समिति बैठक बोलाएका छन् । बैठक कृष्ण सेन ‘इच्छुक’ प्रतिष्ठान घट्टेकुलोमा २१ गतेसम्म बस्नेछ । बैठकमा अध्यक्ष वैद्यले प्रस्तुत गरेको राजनीतिक तथा साङ्गठनिक प्रतिवेशनमाथि छलफल हुने र केन्द्रीय समितिलाई आयोजक समितिमा रूपान्तरण गर्ने एजेन्डा भएको ती नेताले बताए ।
२०७९ चैत २४ गते धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतसँग पार्टी एकता भएको थियो । २६७ सदस्य केन्द्रीय समितिमा वैद्य नेकपाको ६० प्रतिशत र बहुमत समूहको ४० प्रतिशत सदस्य रहेका छन् । नेकपामा अहिले ६७ जना पोलिटब्युरो र १९ जना केन्द्रीय कार्यालय (स्थायी) समिति सदस्य रहेका छन् ।

