

भिख माग्न साउदी जान लागेका १६ पाकिस्तानी पक्राउ

इस्लामावाद – पाकिस्तानबाट साउदी अरब भिख माग्न जान लागेका १६ जना पक्राउ परेका छन् । जसमा एक बालबालिका र ११ जना महिला रहेको बताइएको छ । ती सबैले तीर्थयात्रीहरूलाई दिइएको भिसा (उम्राह भिसा) को फाइदा उठाएर साउदी जान लागेको मिडिया रिपोर्टमा उल्लेख छ ।
पाकिस्तानको पञ्जाब प्रान्तको मुल्तान सहरको एयरपोर्टबाट उनीहरुलाई पक्राउ गरिएको हो । सोधपुछका क्रममा ती व्यक्तिले भिखमा प्राप्त हुने रकमको ५० प्रतिशत ट्राभल एजेन्टलाई दिने शर्तमा साउदी जान लागेको खुलासा भएको छ ।
पाकिस्तानी मिडिया डनको रिपोर्टका अनुसार सेप्टेम्बर २७ मा विदेशी पाकिस्तानीहरूको लागि सिनेट स्थायी समितिलाई पाकिस्तानबाट ठूलो संख्यामा भिखारीहरू विदेश गइरहेको रिपोर्ट गरिएको थियो ।
विदेश मन्त्रालयका सचिव जुल्फिकार हैदरले समितिलाई धेरै भिखारीहरूले तीर्थयात्री भिसाको फाइदा उठाएर साउदी अरब, इरान र इराक जाने गरेको बताएका थिए ।
यसैबीच विदेशी अधिकारीहरूको बैठकमा साउदी अरेबियाले पाकिस्तानलाई हज कोटा दिन सावधानी अपनाउन भनेको पनि मिडिया रिपोर्टमा भनिएको छ । साउदी अधिकारीहरूले पाकिस्तानलाई भिखारी र पकेटमारहरू नपठाउन आग्रह गरेको र साउदीले आफ्नो जेल यस्ता व्यक्तिले भरिएको बताएको रिपोर्टमा उल्लेख छ ।

