राजनीतिक अस्थिरताबीच पूर्वप्रधानमन्त्री र पूर्वराजाको भारत दौडको अर्थ

संविधानविदहरू र विभिन्न राजनीतिक दलका नेताको आशंकामा हावा भर्ने काम किन भइरहेको छ?


काठमाडौं– नेपालमा प्रतिनिधि सभा विघटनको निर्णयलगत्तै पूर्वप्रधानमन्त्रीहरूको उपचारका नाममा भारतका विभिन्न ठाउँको दौड सुरु भयो। सर्वोच्च अदालतको संवैधानिक इजलाशको फैसलाअघि नै भएको भारत दौडले केही राजनीतिक संकेत गरे पनि अधिकतमले उपचारको बाहना बनाए।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई अहिले नयाँ दिल्लीमा उपचारका क्रममा रहेको विवरण सार्वजनिक गरिरहेका छन्। उनी नयाँ दिल्ली पुगेको दोस्रो दिनमा नै सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई बदर गर्दै १३ दिनभित्र संसद बैठक राख्न सरकार, राष्ट्रपति कार्यालय र संसद सचिवालयका नाममा परमादेश जारी गरिसकेको छ।

त्यसअघि पूर्वप्रधानमन्त्री तथा नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहका बरिष्ठ नेता झलनाथ खनाल उपचारका नाममा नयाँ दिल्ली पुगेका थिए। उनी फर्किएको केही समयमा नै संसद पुनःस्थापनाको फैसला भयो। फैसला लगत्तै खनालको प्रतिक्रिया थियो– एमसीसी पास गराउनुपर्छ। अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विवाद चरम भएका बेला नेकपाभित्र खनालको नेतृत्वमा कार्यदल गठन भएको थियो। तर त्यो कार्यदलले एमसीसी सम्झौतामा व्यापक संशोधन गर्ने प्रतिवेदन बुझाएको थियो।

यद्यपि उनै खनालले अब संशोधनको विषयलाई गौणमा राखेर एमसीसी पारित गर्नुपर्ने धारणा किन राखेका छन्? ‘यसले राजनीतिक खेल र नेपालमा अस्थिरतामा विदेशी शक्तिले खेल्यो भन्ने संकेत हो’, उच्च स्रोतले भन्यो,‘यसरी नेताहरू आफ्ना निर्णय र भनाईबाट तुरुन्तै किन फिर्ता हुन्छन्?’

प्रतिनिधि सभा विघटनको निर्णय ५ पुसमा भएको केही दिनमा नै पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्ड पत्नी सीताको उपचारका लागि भारत पुगेका थिए। उनले त्यहाँ भारतीय जनता पार्टीसँग नजिक रहेका महाराष्ट्रका गभर्नर (राज्यपाल) भगतसिंह कोसियारीसँग भेटको कोशिश गरेका थिए तर पाएनन्। लगत्तै काठमाडौंमा भएको विरोध सभामा उनको हुंकार थियो– संसारको सबैभन्दा ठूलो लोकतन्त्रवादी शक्तिले आन्दोलनमा सहयोग गर्नुपर्छ।

यति मात्र होइन, उनले पाएजति मिडियाका फोरम र अन्तरवार्तामा भारतीय हस्तक्षेप अनिवार्य रहेको बताएका थिए। ‘प्रचण्डले यहि राजनीतिक खेल खेलिदिए, त्यसैले नेपालको आन्तरिक विवादमा बाह्य शक्ति चलायमान हुन सफल भयो’, एक जना विश्लेषक भन्छन्।

नेपालमा अहिले त्रिपक्षीय राजनीतिक टकराव रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको कदम, प्रचण्ड नेतृत्वको नेकपाको आन्दोलन, विवाद र जीतको हल्ला तथा हिन्दूत्व र राजसंस्थाका व्यक्तित्वका रुपमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह।

पूर्वराजा शाह पनि आगामी ३ मार्चमा १० दिनका लागि भारत भ्रमणमा जान लागेका छन्। नेपालमा राजनीतिक संकटले किनारा नपाइरहेका बेला उनको भारत भ्रमणलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ।

संविधानका ज्ञाता डा. भिमार्जुन आचार्यले भनेका छन्,‘संविधान त जोगिएको छ तर हिजो जुन शक्तिले प्रधानमन्त्री ओलीलाई खेलायो, आज त्यहि शक्तिले अर्को पक्षलाई पनि खेलाएको प्रतीत हुन्छ।’ उनले अन्तरवार्ताका दौरान नै यस्तो अभिव्यक्ति दिएका हुन्।

नेपालका हाइप्रोफाइलको भारत भ्रमणमा हस्तक्षेपको गन्ध देखिने त नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले पनि बताउँदै आएका छन्। यो अर्थपूर्ण रहेको उनको टिप्पणी छ। उनले भनेका छन्,‘प्रधानमन्त्री ओलीले अहिले राजीनामा दिन हुँदैन, विदेशी शक्तिका सामु झुक्नु हुँदैन।’

स्वतन्त्र विश्लेषकहरू र विजुक्छेसम्मका धारणाले नेपालको राजनीति अस्थिर गतिमा विदेशीको इसारामा चलिरहेको भन्ने अर्थ दिइरहेको छ। यस्तोमा निकाशका लागि नेपालका सबै राजनीतिक दल एक ठाउँमा उभिनुको विकल्प नरहेको बताइन्छ।

प्रतिक्रिया