तरुण दल संस्थापनइतरको भेला सम्पन्न, ३ महिना पुग्दा पनि अझै भएन सपथ


काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको संस्थापनइतर समूहको भेला सम्पन्न भएको छ । राजधानीको बत्तिसपुतलीमा डा. शेखर कोईराला र गगन थापा समूहबाट मनोनित भएका तरूण दलका केन्द्रिय सदस्यहरुको छुट्टै भेला बसेको हो ।

तरुण दलका केन्द्रीय सदस्य दिनेश राईको संयोजकत्वमा सम्पन्न भेलामा असार १३ मा केन्द्रीय सदस्यमा मनोनित भएका ८० भन्दा बढी केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।

भेलामा मनोनित भएको ३ महिना पूरा भई सक्दा पनि अहिलेसम्म केन्द्रीय सदस्यहरुलाई सपथग्रहण नगराइनुमा तरुण दल नेतृत्वको भूमिका बारे प्रश्न उठाइएइको थियो ।

भेलामा सपथ ग्रहण र तरुण दलको भावी रणनीतिबारे छलफल भएको पनि केन्द्रिय सदस्य रोशन पाण्डेले जनाए । पाण्डेका अनुसार तरूण दलबारे आन्तरिक छलफल र आगामी रणनीति र कुराकानी गरिएको थियो ।

उक्त अवसरमा तरूण दलका केन्द्रीय सदस्य निरञ्जन थापाले केन्द्रीय कार्यालयमा संस्थापक अध्यक्ष सिंहध्वज खड्काको फोटो राख्न माग गरेका थिए ।

साथै भेलामा बोल्दै तरूण दलका केन्द्रीय सदस्य पशुपति पोखरेलले तरुण दलको केन्द्रीय सदस्यको पोर्टफोलियोको विषयमा पनि कुरा उठाएका थिए । पोखरेलले पार्टीले तरुण दलको केन्द्रीय सदस्यलाई स्थानीय तहको सभापतिभन्दा बरियतामा मुनि राखिएकोमा त्यसबारे पनि पुर्नविचार गर्नका लागि पार्टी नेतृत्वसँग छलफल गर्नुपर्नेमा जोड दिए ।

केन्द्रीय सदस्य पोखरेलले तरूण दल भित्रैका कतिपय नेताहरुले नेताहरूको बिचमा भाष्य सिर्जना गर्ने खोजेको जनाउँदै त्यसका लागि आम तरुण दलका साथै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता नै सचेत हुनुपर्ने जनाए । उनले भने, ‘बजारमा शेखर कोइराला र गगन थापाको कुरा मिल्दैन उहाँहरू पन्ध्रौं महाधिवेशनमा फरक कित्तामा उभिनु हुन्छ भन्ने हल्ला फैलाएर हाम्रो टिमलाई फुटाउन खोजिँदैछ यसबारे हामीहरु सचेत हुनुपर्दछ ।’

उनले यही असोज १४ गते आइतबार हुन गइरहेको रुपान्तरण अभियानको विचार गोष्ठीलाई दुवै नेताहरुले सम्बोधन गर्ने जनाउँदै उक्त गोष्ठीमा संस्थापन इतरका सम्पूर्ण तरुण दलका केन्द्रीय सदस्यहरुलाई भेला हुन समेत आग्रह गरे ।

कार्यक्रममा तरुण दलका ३७ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । भेलामा सहभागी केन्द्रीय सदस्यहरुले नेता शेखर कोइराला, महामन्त्री गगन थापा समूह एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया