नेकपा एसको समाजवादी जागरण अभियान असोज १४ देखि हुने


काठमाडौं – नेकपा एकीकृत समाजवादीले असोज १४ गतेदेखि समाजवादी जागरण अभियान सञ्चालन गर्ने भएको छ।

समाजवादीले बिहीबार पार्टी कार्यालय आलोकनगरमा पत्रकार सम्मेलन गर्दै झापाको मेची किनारबाट प्रारम्भ हुने जनअभियान असोज २९ गते महाकालीमा समापन हुने जनाएको हो। अभियानका क्रममा समाजवादी जागरण अभियान को नाममा जनताको घर दैलोमा पुग्ने समाजवादीले जनाएको छ।

त्यस्तै सुशासन, विकास र रोजगारीको मागका साथै भ्रष्टाचारको अन्त्य गर्न जनतालाई जागृत गर्नका लागि अभियान गर्न लागिएको नेकपा एकीकृत समाजवादीको भनाइ छ। अभियानका क्रममा रुपान्तरणकारी एजेन्डा, पार्टीले उठाउँदै आएका मुद्दा र कार्ययोजनाबारे जनतालाई बुझाइने समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए। पार्टीको धारणाहरू जनतामा पुर्‍याउने र जनताको विश्वास हासिल गर्नेगरी अभियानको आयोजना गरिएको उनले बताए।

अध्यक्ष नेपालले समानताको धारणा, न्याय, सुशासनको प्रत्याभूति, विकासको अभियान र जनतालाई समृद्ध बनाउने खालको समाजवादको अवधारणा सहित जनतामाझ जाने जिकिर गरे। त्यस्तै अध्यक्ष नेपालले अन्दाधुन्ध मूल्यवृद्धि हुँदा पनि नियन्त्रणमा सरकारको राम्रो प्रयत्न नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउने बताए।

शिक्षकहरूको आन्दोलनका विषयमा उनले कतिपय अपुग भएका विषयमा पनि सरकारको ध्यान जानुपर्ने र जायज माग पूरा हुनुपर्ने बताए। उनले गठबन्धन र समाजवादी मोर्चामा पार्टी रहेको भन्दै मोर्चा स्पष्ट लक्ष्य र आफ्नो कार्यक्रम अघि बढिरहेको बताए।

अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेशमा रोकिएको मोर्चाको सभाका बारेमा शुक्रबार बस्ने मार्चोको सचिवालय बैठकले टुंगो लगाउने बताए।

प्रतिक्रिया