

तान्जानियामा धानबाली जोगाउन लाखौंको संख्यामा मारियो क्वेलिया चरा

काठमाडौं – तान्जानियाले धानबाली जोगाउन लाखौंको संख्यामा क्वेलिया अर्थात् रातो चुच्चो भएको भँगेरा जस्तै देखिने समूहमा घुम्ने पंक्षी मारेको छ । धानबाली जोगाउन र व्यावसायिक खेतीको अनुगमनका लागि ड्रोन र विमानको प्रयोग गरी ठूलो समूहमा घुम्ने चरा मारेको तान्जानियाको बोटबिरुवा र किटनाशक औषधि निगरानी निकायले जनाएको छ ।
तान्जानिया बोटबिरूवा स्वास्थ्य तथा किटनाशक प्राधिकरण (टीपीएचपीए) ले गएको हप्ता झण्डै एक हजार हेक्टरमा लगाइएका व्यावसायिक बालीहरू खतरामा परेको भन्दै मन्याराको उत्तरी क्षेत्रमा ५० लाख क्वेलिया चराहरू मारेको जनाएको छ ।
५० लाख विनाशकारी चराको झुण्ड मारेको र अब अन्य क्षेत्रको निगरानी गरिरहेको टीपीएचपीएका कार्यवाहक महानिर्देशक जोसेफ नन्डुन्गुरुले बताएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । ठूला समूहमा ओहोरदोहोर गर्ने स–साना रातो चुच्चो भएका चराहरूले त्यहाँ बाली नाश गर्दै आएका छन् ।
टीपीएचपीएका अनुसार यी चराको समूहले एकै दिनमा ५० टनभन्दा बढी अन्नबाली नष्ट गर्न सक्ने क्षमता राख्छन् । क्वेलिया चराहरू विश्वमा सबैभन्दा धेरै प्रजातिका चराहरू मानिन्छन् । अफ्रिकाभरका सरकारहरूले विगतमा पनि यी चरालाई नियन्त्रण गर्न विभिन्न प्रयास गर्दै आएका थिए ।

