

२१.५ किलो गाँजासहित एम्बुलेन्स र चालक प्रहरी नियन्त्रणमा

विराटनगर – विरामी बोक्ने एम्बुलेन्समा गाँजा बरामत भएपछि एम्बुलेन्ससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विराटनगर महानगरपालिका–१८ लाभाघाटमा गाँजा बोकेको एम्बुलेन्ससहित चालकलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा चालक धरान–११ का ३८ वर्षीय गंगा सरकार रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा को.१ च ४६१९ को एम्बुलेन्सको डिकीमा राखी ल्याएको २१.५ किलोग्राम गाँजा र नेपाली रुपैयाँ ४० हजार बरामद गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गाँजा बरामद भएसँगै राजन अधिकारी फाउण्डेशन धरानद्वारा सञ्चालित उक्त एम्बुलेन्स चालक र सोही स्थानमा रहेको मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिएको छ।
गाँजा सहित पक्राउ परेको एम्बुलेन्स तथा चालकको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

