राजनीतिक असमझदारी हटाउन भूमिका खेलिरहेको छु : सभामुख घिमिरे


झापा – सभामुख देवराज घिमिरेले राजनीतिक दलबीचको असमझदारी हटाउन आफूले भूमिका खेलिरहेको बताएका छन् ।

झापामा आज सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसद्लाई कुशलतापूर्वक सञ्चालन गर्न आफू सकेसम्म प्रयासरत रहेको बताए । “राजनीतिक पार्टी र नेताहरूबीचमा असमझदारी बनेका बेला उहाँहरूलाई एक ठाउँमा राख्ने काम सकेसम्म भूमिका खेलेको छु”, उनले भने, “यसमा एक खालको सफलता मिलेको छ ।” सरकारले ल्याएका ऐन–विधेयकलाई संसद्मा घनिभूत छलफल गराउने काम आफूले गरिरहेको सभामुख घिमिरेको भनाइ छ ।

सरकारले गम्भीरताका साथ ऐन कानुन निर्माण लाग्न नसकेको बताउँदै उनले कानुन ल्याए पनि तुरुन्त पछि हट्नुपर्ने अवस्था रहेको चर्चा गरे । सभामुख घिमिरेले सरकारले विधेयक ल्याउँदा सरोकारवालाहरूसँग बृहत् छलफल गर्नुपर्नेमा जोड दिए ।

“संसद्मा विधेयक आउने बित्तिकै त्यसको व्यापक विरोध भइरहेको अवस्था छ”, उनले भने, “विधेयक ल्याउँदा सरोकारवालासँग छलफल गरेर उनीहरूको माग र भावना समेट्न आवश्यक छ ।”

झापा क्षेत्र नं २ का संसद्समेत रहेका उनले यस क्षेत्रको विकासमा निरन्तर लागिपर्ने बताए । यस क्षेत्रका जनतासँग गरेको बाचा पूरा गर्न कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ ।

प्रतिक्रिया