

लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १५५ मा बेच्दै पाण्डे

काठमाडौं – गाईंभैसीमा महामारीको रुपमा देखा परेको लम्पी स्किन रोगको खोपमा कालोबजारी भइरहेको तथ्य फेला परेको छ ।
भेटल एनिमल हेल्थ प्रोडक्ट्स, टर्कीबाट नेपालका लागि लोटस भेट इन्टरनेशनल त्रिपुरेश्वरका सञ्चालक भरत बहादुर पाण्डेले लम्पी स्किन डिजिज (Lsd) भ्याक्सिन आयात गरिरहेका छन् ।
लम्पी स्किनको महामारी बढ्दै गइरहेको मौका छोपी पाण्डेले सो भ्याक्सिनमा कालोबजारी गरेको पाइएको हो । पाण्डेले आयातको दोब्बर मूल्य राखी भ्याक्सिन बिक्री वितरण गरेको तथ्य फेला परेको हो ।
प्राप्त कागजातअनुसार आयातका क्रममा पाण्डेले प्रति बोतल रु. १५ डलरमा खोप खरिद गरेका छन् । २५ डोज भ्याक्सिन बराबर एक बोतल हुन्छ ।
प्राप्त कागजजातअनुसार २०८० साल असार ३० गते भेटल एनिमल हेल्थ प्रोडक्ट्सबाट पाण्डेको कम्पनी लोटस भेट इन्टरनेशनल ट्रेड लिंक (प्यान नम्बर ३०१८०६६५७) ले ३४०० (तीन हजार चार सय बोतल) खोप आयात गरेका थिए । सो बिल हामीलाई प्राप्त भएको छ ।
उक्त खोप पाण्डेले प्रति बोतल रु. १५ डलर अर्थात् आजको विनिमय दरअनुसार प्रति बोतल १९९५ नेपाली रुपैयाँमा खरिद गरेका थिए । उनले त्यो खोप प्रति बोतल नेपाली रुपैयाँ ३८७५ मा बिक्री गरेको पाइएको छ ।
पाण्डेले २०८० साल जेठ महिनाको अन्तिम साताबाट नेपालमा बिक्री गरेको पाइएको छ । सो खोप उनले प्रति डोज १ सय ५५ रुपैँयामा बिक्री गरेको पाइएको छ । यो भनेको उनले प्रति बोतल रु. ३८७५ मा बिक्री गरेको देखिन्छ ।
पाण्डेले महामारीको बेला यसरी खोपमा कालोबजारी गरी कमाउधन्दा चलाएको पुष्टि भएको छ । प्रचलित कानुनअनुसार खरिद मूल्यको २० प्रतिशतभन्दा बढी मूल्यमा बिक्री वितरण गर्न पाइदैन । त्यसभन्दा बढी मूल्य राखेमा कालोबजारी गरेको ठहर्छ । कानुनअनुसार पाण्डेले उक्त खोप रु. १०० भन्दा बढी मूल्यमा बिक्री गर्न पाउदैनन् । तर उनले १५५ रुपैयाँमा बिक्री गरेर महामारीमा कालोबजारी गरेको पाइएको हो ।
कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को संशोधन गर्ने ऐन २०७५ अनुसार व्यापारको प्रचलन अनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो माल वस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई एकवर्षसम्म कैद वा दुई लाख पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने व्यवस्था गरिएको छ ।
यस सम्बन्धमा सञ्चालक पाण्डेले भने आफूले खोपमा कालोबजारी नगरेको दावी गर्दै प्रमाण भए पेश गर्न चुनौती दिए । तर, प्राप्त कागजातलाई हेर्दा उनले खोपमा कालोबजारी गरेको पुष्टि भएको छ ।

