खेमराज भट्ट मायालुको निधनप्रति माओवादीद्वारा दुःख व्यक्त


काठमाडौं – नेकपा माओवादी केन्द्रले पार्टीका केन्द्रीय सल्लाहकार सदस्य खेमराज भट्ट मायालुको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठले शोक वक्तव्य जारी गर्दै मायालुको निधनप्रति दुःख व्यक्त गरेका हुन् । लामो समयदेखि फोक्सोको क्यान्सर रोगबाट पीडितत मायालुको उपचारका क्रममा बिहीबार राति ७३ वर्षको उमेरमा निधन भएको हो ।

 

शोक वक्तव्य

हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार सदस्य कमरेड खेमराज भट्ट मायालुको ७३ वर्षको उमेरमा २०८० असोज ४ गते राती १० बजेर २५ मिनेट जाँदा वीर अस्पताल काठमाडौंमा निधन भएको खबरले हाम्रो सिङ्गो पार्टी मर्माहत भएको छ । यस शोकको घडीमा हाम्रो पार्टी दिवंगत कमरेड खेमराज भट्ट मायालुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । उहाँ लामो समयदेखि फोक्सोको क्यान्सर रोगको उपचारमा हुनुहुन्थ्यो ।

कमरेड खेमराज भट्टको जन्म २००७ साल असार १९ गते डडेलधुरा जिल्ला भागेश्वर गाउँ पालिका डुमरीमा बुबा भोजराज र आमा पार्वती भट्टको कोखबाट भएको थियो । उहाँका श्रीमती बुनु भट्ट (दिवंगत), छोराहरु प्रतिक र आकाश भट्ट, नाति प्रिन्स भट्ट र नातिनी प्रिसा भट्ट हुुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर उतीर्ण गर्नुभएको थियो ।

उहाँ डडेलधुराबाट बर्दियाको दौलतपुरमा बसाई सर्नु भइ नेपाली कांग्रेसबाट राजनीति सुरु गर्नुभयो र छिट्टै उदीयमान नेताको रुपमा स्थापित हुनुभयो । निरंकुश पञ्चायती व्यवस्थाका विरुद्ध सक्रिय राजनीति गर्दा उहाँ जेल पर्नुभयो र आठ वर्षसम्म जेल जीवन बिताउनु भयो । नक्खु जेलमा रहदा गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहसँग भेट भयो । जेलमा नेपाली कांग्रेसका सन्त नेता कृष्ण प्रसाद भट्टराई पनि हुनुहुन्थ्यो तर उहाँ रामराजा प्रसाद सिंहसँग प्रभावित हुनुभयो ।

२०३२ सालतिर छापामार युद्धबाट देशमा गणतन्त्र स्थापना गर्न रामराजा प्रसाद सिंहको नेतृत्वमा सक्रिय हुनुभयो । त्यसै सन्दर्भमा रामराजा प्रसाद सिंहको नेतृत्वमा जनवादी मोर्चा गठन भयो । उहाँ मोर्चाको महासचिव बन्नुभएको थियो । गणतन्त्र स्थापनका लागि २०४२ सालमा वम काण्ड जनवादी मोर्चाकै अगुवाइमा भएको थियो । तत्पश्चात गणतन्त्र स्थापनार्थ १४ वर्ष निर्वासन र भुमिगत जीवन बिताउनु भयो । पञ्चायती शासकले उहाँलाई आजीवन कारावास र सर्वस्वहरणको सजाय सुनाएको थियो ।

२०४६ सालको जनआन्दोलनबाट पुनस्र्थापित बहुदलीय व्यवस्थामा उहाँ नेपाली कांग्रेसमा पुनः प्रवेश गर्नुभयो । २०५६ सालमा नेपाली कांग्रेसको तर्फबाट बर्दियाबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभयो र २०५९ सालमा सामान्य प्रशासन मन्त्री बन्नुभयो । २०६४ सालको शान्ति प्रक्रियापश्चात् २०७० सालमा उहाँ एकीकृत नेपाल कम्युुनिष्ट पार्टी (माओवादी)मा समाहित हुनुभई केन्द्रीय सल्लाहकार बन्नुभयो र मृत्यु पर्यन्तसम्म पनि केन्द्रीय सल्लाहकार भई पार्टी र जनताप्रति निष्ठावान भइ आफ्नो कर्तव्य कुशलतापूर्वक निर्वाह गर्नुभयो ।

अन्त्यमा, हाम्रो पार्टी गणतन्त्रवादी नेता कमरेड खेमराज भट्ट मायालुप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै शोकको यस घडीमा शोकलाई शक्तिमा बदल्न शोकाकुल सम्पूर्ण परिवारजन, आम पार्टी पंक्ति र गणतन्त्र प्रेमी जनसमुदायमा हार्दिक अपील गर्दछ ।

नारायणकाजी श्रेष्ठ
का.वा. अध्यक्ष

प्रतिक्रिया