

कसैले शिक्षकलाई कारबाही गरे प्रतिवाद गर्ने महासंघको चेतावनी

काठमाडौं – नेपाल शिक्षक महासंघले आन्दोलनमा लागेबापत कसैले कारबाही गरे प्रतिवाद गर्ने चेतावनी दिएको छ । काठमाडौं महानगरका सामुदायिक विद्यालयहरुलाई बन्द गर्ने प्रधानाध्यापक र हाजिर नगर्ने शिक्षकहरुलाई कारबाही गर्ने सूचना जारी गरेको केहीबेरपछि नै महासंघले प्रतिवाद चेतावनी दिएको हो ।
महासंघका अध्यक्ष राजेन्द्र अधिकारी र सचिव हेरम्बराज कँडेलले एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा सहभागी भएबापत कोही कसैले कारबाही गरेमा त्यसको प्रतिवाद महासंघको नेतृत्वमा सामूहिक रुपमा गरिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
‘संसद र कर्मचारी संयन्त्रले बनाएका गलत र प्रतिगामी नीति र रबैयाले सार्वजनिक शिक्षा ध्वस्त हुँदै जाने र यसको दोष चाहिँ सधैं शिक्षकले बोक्नुपर्ने नियतिको हामी सदाको लागि अन्त्य गर्न चाहन्छौं र यसको लागि यस पटकको आन्दोलन निर्णायक र अन्तिम बनाउन चाहन्छौं’, विज्ञप्तिमा उल्लेख गरिएको छैन ।
महासंघले आन्दोलनको समयमा छुटेका पढाइ आन्दोलनको सफलतापछि अतिरिक्त कक्षाहरुबाट परिपूर्ति गरिने प्रतिवद्धता पनि व्यक्त गरेको छ । ‘शिक्षकहरुको हकहित र नेपालको सार्वजनिक सुधारको लागि गरिएको यो आन्दोलनलाई समर्थन गरी साथ दिनुहुन विद्यार्थी, अभिभावक, शिक्षाविद, राजनीतिक दललगायत सरोकारवाला सबैलाई अनुरोध गर्दर्छौं’, महासंघले आग्रह गरेको छ ।
काठमाडौं महानगरले आजै साँझ विज्ञप्ति जारी गरी महानगरका विद्यालय बन्द गरिए कारबाही गर्ने दोहोर्याएको थियो ।

