नेकपा दाहाल-नेपाल समूहको संसदीय दलको बैठक बस्दै


काठमाडौँ । सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक निर्णयलाई बदर गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समुहले संसदिय दलको बैठक बोलाएको छ । आज अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सांसदहरुसँगको छलफलका लागि अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल चितवनबाट काठमाडौँ फर्कदै छन् । बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्ने छ । दाहाल-नेपाल समूहले यसअघि केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरिसकेको छ । सो समूहले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेका थिए। मन्त्रिपरिषदको रिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधि सभा विघटन गरी आगामी १७ र २७ वैशाखमा निर्वाचतको मिति घोषणा गरेकी थिइन्।

यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए। लामो बहसपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले मंगलबार प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्ने फैसला सुनाएको थियो। यससँगै सर्वोच्चले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन पनि आदेश गरेको छ।

प्रतिक्रिया